२९ असार, काठमाडौं । मधेस मामिलामा कडा देखिँदै आएका एमाले अध्यक्ष केपी ओली २ नम्बर प्रदेशको निर्वाचनका लागि नरम बन्न थालेका छन् । आन्दोलनमा प्रहरीको गोली लागेर मरेका व्यक्तिलाई आँप झरेको भन्नेदेखि राजेन्द्र महतोलाई विहार र युपी जान भनेको ओलीको सन्दर्भ आलोचनाको विषय बन्दै आएको छ । तर यतिवेला ओली स्वयम्ले यी विषयको खण्डन गर्दै आफूले कहिल्यै
त्यसो नभनेको बताएका छन् । उनले जनताको खुशीका लागि संविधान संशोधन गर्न सकिने आश्वासन समेत दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताएका छन्। राजधानीमा विहीबार आयोजित मानवअधिकारसम्बन्धि एक कार्यक्रममा सम्बोधन गर्दै एमालेका खोट कसैले देखाइदिए त्यसलाई समेत सुधार्ने प्रतिबद्धता व्यक्त गरे ।
तराई–मधेसका बृद्धिजीविसँग गरेको अन्तरक्र्रियामा ओली तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताए ।
“तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन”– ओलीले भने, “त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ ।”
उनले तराई–पहाड छुट्याउन हुन्न भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै तराई–मधेसका जनताको उत्थान र विकासका लागि एमाले संघर्ष गर्दै आएको पार्टी भएको दावी गरे।
“तराई–मधेसका बारेमा एमालेका कमी भए देखाइदिनुहोस् हामी सच्याउँछौँ”– अध्यक्ष ओलीले भने “एमालेको नीतिमा यदि खोट भए हामी त्यसलाई सुधार्छौं।”
आफूले मधेसका सहिदलाई अपमानजनक शब्द कहिल्यै प्रयोग नगरेको बताउँदै ओलीले त्यहाँका जनतालाई विहार र उत्तरप्रदेश जान आफूले कहिल्यै नभनेको उल्लेख गरे । तराई–मधेस सुगम भए पनि विकासका दृष्टिकोणले दुर्गमभन्दा पछि परेको धारणा उनले व्यक्त गरे।
“विकास, मानव सचेतना र सामाजिक जागरणले तराई–मधेस दुर्गमका पडाडि भू–भागभन्दा पछि परेको छ”– अध्यक्ष ओलीले भने, “अब दुर्गमभन्दा पछि परेका मधेसका भू–भागलाई हरेक दृष्टिकोणबाट अगाडि लैजानु पर्दछ ।”
उनले संविधान सहमतिको दस्तावेज भएकाले कुनै पनि समुदायको विकासमा संशोधन गरेर मद्दत पुग्छ भने संशोधन गर्न एमाले तयार रहेको बताउँदै चुनावपछि एमालेसहितको छलफल गरी संविधान संशोधन गर्न सकिने बताए ।












