२९ असार, श्रीलंका । गृहमन्त्री जनार्दन शर्माले आतङ्कवादविरुद्ध नेपालले महत्वपूर्ण सात कानुन बनाउन लागेको जानकारी सार्क राष्ट्रलाई दिएका छन् । श्रीलङ्काको कोलम्बोमा आयोजित सार्क राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकलाई आज सम्बोधन गर्दै गृहमन्त्री शर्माले आतंकवादका विरुद्ध विश्वले उपयुक्त कदम चाले पनि चुनौति भने थपिँदै गएको टिप्पणी गरेका थिए । आतङ्कवाद तथा आपराधिक क्रियाकलापविरुद्ध विश्वभरबाट उच्चतम प्रयास चालिए पनि त्यस्ता समस्याको समाधानमा कठिनाइ उत्पन्न भइरहेको धारणा उनको थियो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सम्बोधन गर्न पुनरावलोकन समिति समेत गठन भएको बताउँदै उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम अगाडि बढेको जानकारी दिए । अहिलेको विकास र समृद्धिको दिशामा विद्युतीय अपराध ठूलो चुनौती बनिरहेको गृहमन्त्री शर्माले बताए।
प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको धारणा समेत उनले राखेका थिए । भ्रष्टाचार बढ्दै जाँदा राजनीति, सम्बन्धित संस्था र नेतृत्वमाथि समेत जनताको विश्वास गुम्ने अवस्था रहेको बताएका थिए ।
दुईदिने कार्यक्रममा सहभागी भई गृहमन्त्री शर्मा, मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दीपक काफ्ले शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।













