२९ असार, काठमाडौं । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्षत्रीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
मुख्य सचिवको बन्ने दौडमा लागेका नारायणगोपाल मलेगो, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, शंकर अधिकारी, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मीमध्ये क्षत्री वरिष्ठ सचिव हुन् । तर क्षत्री लामो समय सो पदमा आसिन हुन पाउने छैनन् । उमेर हदका कारण कात्तिकमा उनले अवकाश लिनुपर्ने छ । ५८ वर्ष उमेर पूरा गरी उनले कात्तिक ८ मा अनिवार्य अवकाश पाउनेछन् ।
२०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश गरेका हुन् ।
तत्कालीन मुख्य सचिव सोमलाल सुवेदी आफ्नो पद अतिरिक्त समूहमा राखी काजमा एडीबीमा गएपछि सरकारले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्य सचिव तोकेको थियो ।
मुख्यसचिवका अर्का दावेदार मानिएका वरिष्ठ दाबेदार सचिव धनबहादुर तामाङले विशिष्ट श्रेणीको ५ वर्षे पदावधि पूरा गरी बुधबार अनिवार्य अवकाश पाएका छन् । तामाङ्को अवकाशपछि क्षत्रीलाई वरिष्ठताका आधारमा सरकारले नियुक्त गरेको हो ।












