२९ असार, काठमाडौ । राज्यलाई अबौं राजश्व नोक्सान पुर्याएको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र पेश भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका ३ पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दामा बिगो माग दाबीसहित मुद्दा दायर गर्न लागेको हो । तर समयअभावका कारण उनीहरुविरुद्धको मुद्दा आज दायर हुन नसकेको जनाइएको छ ।
अख्तियारको आरोपपत्रमा कर फर्छ्यौट आयोगका अध्यक्ष लुमध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई विपक्षी बनाइएको छ ।
अख्तियारले १०७९ मध्ये करिब ५० वटा मात्रै फाइलको अध्ययन गरेको छ । यस्तै चुडामणिकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले भोलि शुक्रबार चुडामणिलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । कर फर्छ्यौट आयोगका अन्य दुई पदाधिकारी महत र ढकाल भने पनि फरार छन् ।
अख्तियार स्रोतका अनुसार शर्मा विरुद्ध दायर हुन लागेको यो पहिलो चरणको मुद्दा हो । उनी गत जेठ १९ गते पक्राउ परेका थिए ।












