२९ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारसम्म मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । शनिबारसम्म मन्त्री बन्ने व्यक्तिको नाम टुङगो लगाउने र आइतबार सपथ गराउने तयारीका साथ सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रले गृहकार्य गरिरहेका छन् ।
‘माओवादी अध्यक्ष शुक्रबार विदेशबाट फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । पत्नी सीताको उपचारका लागि प्रचण्ड बुधबार थाइल्यान्ड गएका छन् । उनी फर्केपछि माओवादीले मन्त्रीहरूको टुंगो लगाउनेछ ।
प्रधानमन्त्री देउवाले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएपछि कांग्रेस र माओवादीबाट ३–३ र लोकतान्त्रिक फोरमबाट एक गरी सातजनालाई मन्त्री बनाएका थिए । दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार संविधान संशोधनपछि गर्ने उनको तयारी थियो । तर, प्रमुख प्रतिपक्षी एमाले र राप्रपा सहमत नहुँदा संशोधनका लागि दुईतिहाइ नपुग्ने भएपछि देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन् ।












