२९ असार, काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती असार २९ गते विहीबार विविध कार्यक्रम गरी मनाइँदै छ ।
‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए । भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन् ।
विसं १८७१ असार २९ गते तनहँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए । भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् ।
‘प्रश्नोत्तर’ कृतिमा मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने ‘वधूशिक्षा’मा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । उनका फुटकर कवितामा कान्तिपुर र प्रकृतिको वर्णन, ढिलो प्रशासनतन्त्रलाई व्यङ्ग्य गरिनाका साथै समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गरिएको छ ।
नेपालको राष्ट्रियतासँगै नेपाली भाषामाथिको आक्रमण बढेका कारण भानुजयन्तीको महत्त्व झन् बढ्दै गएको छ । नेपाली भाषालाई समाप्त पार्ने गरी विदेशी भाषा लाद्ने बाह्यशक्तिको रुचि नेपालमा बढेसँग राष्ट्रवादी, भाषासेवी र जागरुक नागरिक भानु जयन्ती र नेपाली भाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा जुटेका छन् । यही कारण भानु जयन्तीप्रति नागरिकको चेतना अझै बढेको पाइएको छ ।
भानुभक्तको देहान्त विसं १९२३ असोज ६ गते भएको थियो ।












