२८ असार, काठमाडौं । पार्टीका अध्यक्ष कमल थापाले एकल निर्णय गरेको भन्दै त्यस विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा शीर्ष नेताहरुले गोप्य रणनीति तयार पारेका छन् । राप्रपाको सिंगो शक्तिलाई कमल थापाले एक्लो स्वार्थका लागि प्रयोग गरिरहेको भन्दै अधिंकाश नेताहरुले उनलाई संसदीय दलको नेताबाट हटाउने तयारी थालेका हुन् । उनीहरुले गोप्य भेला गर्दै पार्टी अध्यक्ष कमल थापालाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारीमा लागेका छन् । आवश्यक परे थापालाई पार्टीको अध्यक्षबाटै हटाउने वा नसके नयाँ पार्टी गठन गर्ने तयारीमा अधिकांश नेता तथा सांसद लागेका हुन् ।
गत जेठ दोस्रो साताबाटै मोर्चाबन्दीमा उत्रेका सो पार्टीका १० जना सांसदहरुलाई पछिल्लो समय समर्थन बढ्दै गएको बताइएको छ । पछिल्लो समय सांसद संख्या १५ पुग्नुका साथै पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणा, दीपक बोहोरा लगायतका नेताहरुले साथ दिएका छन् ।
सो क्रममा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रबादीको समेत सहयोग रहेको बुझिएको छ । पार्टी अध्यक्ष थापाले संविधान संशोधनको पक्षमा राप्रपा रहेको धारणा सार्वजनिक गरेपछि सो पार्टीका सांसदहरु लगातार गोप्य भेला र छलफलमार्फत अध्यक्ष थापाविरुद्धको मोर्चाबन्दीमा लागेका हुन् ।
गत सोमबारयता दिनहुँजसो गोप्य भेला बोलाएर छलफलमा जुटेका उनिहरुले बुधबारसम्म कुनै ठोस निर्णय भने गरिनसकेको बताएका छन् । यद्यपी दैनिकजसो स्थान फेर्दै छलफलमा जुटेका उनीहरुले बुधबार दुई स्थानमा गोप्य भेला गरेका छन् । बुधबार बिहान पहिलो चरणमा राप्रपाकै बरिष्ठ नेता पशुपति शम्सेर राणाको निवास विजयबासमा गोप्य भेला भएको थियो भने दोस्रो भेला ललितपुरमा एक नेताको घरमा राखेका थिए ।
राणा निवास विजयबासमा भएको भेलामा अध्यक्ष कमल थापालाई संसदीय दलबाट हटाएर दिपक बोहोरालाई बनाउने तथा सरकारमा जानुपरे दिपक बोहोरा र विक्रम पाण्डेलाई पठाउने लगायतका विषयमा छलफल भएको छ । त्यो योजना पुरा नभए चालिस–साठिठ्को संख्यामा सांसद संख्या पुराएर पार्टी नै फुटाउनुपरे पनि पछि नपर्ने विषयमा छलफल भएको श्रोतले बताएको छ ।
विजयबासपछि स्थान फेरेर लललितपुरको एक घरमा बुधबारै भएको अर्को भेलामा सहभागिमध्येका एक सांसदले अध्यक्ष कमल थापाको अवसरवादी चरित्र नसुध्रिएको, पार्टीको मुल सिद्धान्तबाट विचलित भएको तथा राष्ट्रघाती संविधान संशोधनमा हाम्फालेकाले आफुहरु मोर्चाबन्दीमा लागेको बताए । उनले कुनैपनि हालतमा आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने– ‘अब कमल थापा सच्चिने स्थिति पनि छैन, सच्चिएर पनि काम छैन, त्यसैले हामी आफ्नो रोडम्याप तयार गर्दैछौ, सायद एकदुई दिनमा रिजल्ट आउँछ होला ।’ श्रोतका अनुसार सो भेलामा पुर्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्रहरु समेत सहभागि बनेका छन् । भेलामा डा। प्रकाशचन्द्र लोहनीको पार्टी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका शीर्ष नेताहरु समेत सक्रिय सहभागि बनेका छन् ।
श्रोतका अनुसार उनीहरुको गोप्य भेलामा तत्काललाई संविधान संशोधनबाट सरकार नै पछि हटेपनि फेरी उक्त प्रस्ताव आउन सक्ने भन्दै पुन संशोधनको प्रस्ताव ल्याए जसरी पनि असफल पार्ने विषयमा छलफल भएको छ ।
बुधबारको गोप्य भेलामा सहभागि अर्का एक सदस्यका अनुसार १० जनाबाट सुरु भएको कमल थापाविरुद्धको मोर्चाबन्दीमा अहिले १५ जना सांसद पुगिसकेका छन् । त्यस्तै नेता पशुपति संशेर राणा, दिपक बोहोरा, बुद्धिमान तामाङलगायतको पनि समर्थन रहेको छ । अध्यक्ष कमल थापाको निर्णयविरुद्ध गत जेठ १७ गतेबाटै राप्रपाका सांसद रामकुमार सुव्वाको नेतृत्वमा सुरु भएको मोर्चाबन्दीमा विराज विष्ट, रेशम लामा, रमेश तामाङ, सयन्द्र बान्तावा, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ, बबिता लावती मोक्तान लगायत छन् । यीमध्ये केही पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा चलेको आरोप राप्रपा संस्थापन पक्षको छ ।
थापाविरुद्धको कदममा लागेकालाई कसरी कारवाही गर्ने भन्ने योजनामा कमल थापा लागिरहेका छन् ।












