२७ असार, काठमाडौं । जब चुनाव आउँछ तब कांग्रेसभित्र अन्तरघात र वागी उम्मेदवारीको बाढी आउँछ । केन्द्रीय नेताहरुले खल्तीबाट उम्मेदवारको नाम निकाल्ने र स्थानीय स्तरका नेता कार्यकर्तालाई असन्तुष्ट पार्ने गरेका कारण कांग्रेसभित्र अन्तर्घात र वागी उम्मेदवारी हुने पुरानै रोग हो । तर यतिवेला यो रोग एमालेमा सरेको छ । पार्टी नियमविपरीत कारवाही गर्ने परिपाटी एमालेभित्र भए पनि स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण २५ भन्दा बढी तहमा निर्वाचन हार्नुको कारण अन्तरघात भएको सो दलको निष्कर्ष छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ ।
दोस्रो चरणको निर्वाचनमा कम्तीमा एक सय ७० तहमा जित हात पर्ने अनुमान गरेको एमालेले एक सय ५१ स्थानमा प्रमुख पद जितेको छ । मोरङको सुन्दर हरैँचा, रतुवामाई, केराबारी, लेटाङसहित चार स्थान, झापाको गौरादह, हल्दिबारी, बुद्धशान्ति, गौरीगन्ज र मेची नगरपालिका, भोजपुरको भोजपुर र षडानन्द नगरपालिका, कपिलवस्तुको वाणगंगा र बुद्धभूमि, पाँचथरको फिदिममा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको एमालेको निष्कर्ष छ ।
त्यस्तै, पाल्पाको रामपुर, ओखलढुंगाको लिसंखु, सुनसरीको इनरुवा नगरपालिका, नवलपरासीको सुनवल, रूपन्देहीको देवदह, बाजुराको मार्तडी, अछामको मेल्लेख, बान्नीगढी जयगढ र विनायक नगरपालिका, बर्दियाको गुलरिया र राप्ती सोनालीलगायतका २५ भन्दा बढी तहमा पनि जित्ने निश्चित हुँदाहुँदै अन्तर्घातकै कारण गुमाउनुपरेको एमालेको निष्कर्ष छ ।
सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, चौतर्फी घेराबन्दी र अनेकौँ प्रतिकूलताका बाबजुद दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको एमालेको निष्कर्ष छ । ‘चुनाव प्रभावित पार्न सरकारले अन्तिम घडीमा कैयौँ ठाउँमा रकमान्तर गरेर पैसा बाँड्ने काम गर्यो,’ स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने ।












