कृष्णा शर्मा
२६ असार, काठमाडौं । नेपाललाई अस्थिरता र विखण्डनतर्फ लग्ने शक्तिको विरुद्धमा उभिएको एमालेले विदेशीको योजनामा आएको संविधान संशोधनका नयाँ प्रस्तावलाई विफल बनाउने भएको छ । भारतीय योजनामा एक ठाउँमा आएर सरकारमा सामेल भएका कांग्रेस माओवादीले राजपालाई तृण दिने गरी ल्याउन लागिएको संविधान संशोधन प्रस्ताव असफल पार्ने निर्णय गरेको हो ।
दल दर्ताका लागि निवेदन दिएको राजपाका नेता वालुवाटारमा गएर प्रधानमन्त्री देउवासँग नाक जोगाइदिन आग्रह गरेका थिए । उपेन्द्र
यादव निर्वाचनमा गैसकेको र अब आफूहरु निर्वाचनमा जान कम्तीमा एउटा त एजेण्डा हुनुपर्यो भनी राजपा नेताले कांग्रेस माओवादी नेतालाई भनिरहेका छन् । अर्कोतर्फ दोस्रो तहका नेताहरुमार्फत राजपाले एमालेलाई मनाउने प्रयास समेत गरेको थियो ।
स्थानीय निर्वाचनमा प्राप्त मतपरिणामले उत्साहित बनेको एमालेले जनताको साथ पाएको आधारमा सरकारले फेरि ल्याउने भनेको संविधान स्रशोधनको प्रस्ताव राष्ट्रहित विपरित र अनुचित भएको ठहर गरेको हो ।
एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले स्थानीय चुनाव सम्पन्न भएपछि संशोधनबारे छलफल गर्ने सहमति विपरित सत्ता गठवन्धनले संशोधनबारे चर्चा चलाएको भन्दै असन्तुष्टि जनाएको छ ।
एमाले सचिव प्रदिप ज्ञवालीले सरकारद्वारा प्रस्तावित संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित र अनुचित रहेको बताए ।
यसैबीच एमाले बैठकले स्थानीय तहको निर्वाचनप्रति सन्तोष व्यक्त गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले विराटनगर र झापामा पुगेर दोस्रो चरणको परिणामप्रति आक्रोस पोखेका थिए । तर सरकार र विदेशी शक्तिसमेतले एमालेलाई समाप्त पार्ने योजनाअनुसार भएको निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल हुनु जनताको जीत भएको एमालेको ठहर छ । एमालेका विरुद्ध सरकारमा सामेल दल र विदेशी शक्ति लाग्दा स्थानीय निर्वाचनमा एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको भन्दै सन्तोष मात्र व्यक्त गरिएको कुरा सार्वजनिक गरिएको छ । तर, पहिलो संविधान सभामा तेस्रो र दोस्रो संविधानसभामा दोस्रो दल रहेको एमाले स्थानीय निर्वाचनमा पहिलो हुनु सन्तोष मान्नुपर्ने विषय नभएर खुशीले उफ्रनुपर्ने समय हो । तर, एमालेले सन्तोषमा मात्र व्यक्त गर्नुलाई रहस्यका रुपमा हेरिएको छ ।
एमालेको प्रमुख उद्देश्य भनेको केन्द्रीय संसदमा बहुमत ल्याएर सरकार बनाउनु हो । त्यो वातावरणका लागि एमालेले स्थानीय निर्वाचन नभई केन्द्रीय संसदको चुनाव गर्नुपर्ने वातावरण सिर्जना गर्न खोजेको थियो । संविधान संशोधन राष्ट्रघात हो भन्दै पारित हुन दिँदैनौ भनेपछि मधेसी दल भड्किन्छन् र भारत पनि भड्किन्छ भन्ने एमालेले सोचेको थियो । तर, एमालेको अंकगणितीय अनुमामान फेल खायो र मध्यवर्षामा भए पनि चुनाव भयो । भारतले चुनावको विरोध गरेन अशान्ति मच्चाउन नाकाबन्दी गर्न र गोली हान्न मान्छे पठाएन चुनाव भयो । मधेसका अनुहार विजय गच्छदार जतिपल्ट सरकार बनेपनि सरकारमा रहे उनी थारु हुन् उपेन्द्र यादव मधेसी हुन् । यति भैसकेपछि चुनावमा मधेसी दलको सहभागिता भयो भनियो मधेसका जिल्लामा समेत चुनाव भयो ।
तर, चुनाव भएर एमालेलाई घाटा भएको छैन नाफा नै भएको छ । यद्यपि एमालेले विदेशी शक्तिको मनोविज्ञानमा प्रभाव पार्न खोजेको स्पष्टै बुझिन्छ । एमालेसँग अझ धेरै जनता झन् अझ भनौं सारा पहाडी र हिमाली समुदाय छन् । विहार र युपीका नागरिक र त्यहाँ वडाध्यक्ष उठेका व्यक्तिलाई नेपालको नागरिकता मात्र होइन सांसद नै बनाए पनि उनीहरुले हामीलाई जित्न सक्दैनन् भनी एमालेले भारतलाई च्यालेन्ज दिन खोजको देखिन्छ ।
तर, नेपालको रौंचिरा योजना बनाउने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत टाउको दुखाइको विषय बनिरहेको खुफिया एजेन्सी रअलाई एमालेको यो मनोविज्ञानले कुनै प्रभाव पार्ने देखिन्न । मोदीले त प्रधानमन्त्री हुनुभन्दा पहिले नै बुझेका हुन् रअ लगायतका एजेन्सीले छिमेकी सम्बन्ध विगारिरहेका छन् भन्ने कुरा । तर, जति बुझे पनि उनले पवित्रभूमि भनेर सम्मान गर्ने नेपालसँग रअकै कारण उनको सम्बन्ध चिसो बन्यो । जुन भूमिमा आएर मोदीले ब्रह्मचर्य आश्रममा रहेर साधना गरे त्यही भूमिप्रति मोदीले घात गरेको ठहरेको छ ।
जेसुकै होस् एमालेले दुवै चरणको स्थानीय निर्वाचनमा सबै दललाई पछाडि पारेको छ । तर, २ नम्बर प्रदेश नै नेपालको समस्याका रुपमा वैदेशिक शक्तिले बल्झाएको छ । तर, अब संविधान संशोधन नभए पनि २ नम्बर प्रदेशको चुनाव रोकिने अवस्था देखिँदैन ।
आगामी असोज २ गते हुने प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको तयारी पनि एमालेले नै सबैभन्दा पहिले थालेको छ । सोमबारको बैठकले सबै कार्यकर्तालाई २ नम्बर प्रदेशमा केन्द्रित गर्ने आन्तरिक निर्णय गरेको छ । जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको नाम १५ दिनभित्र सिफारिस गर्न प्रदेश संगठन कमिटीलाई निर्देशन समेत दिएको छ ।
एमालेको यो सन्देशसँग स्पष्ट बुझ्न सकिने कुरा के हो भने प्रतिपक्षमा रहँदा र भारत दाहिना नहुँदा पनि एमालेले स्थानीय निर्वाचन जित्यो भने संसदीय निर्वाचनमा एमालेले एकल सरकार बनाउने गरी बहुमत ल्याउँछ भन्ने आंकलन नै हो । संविधान संशोधनमा मागिएको मधेसमा निर्वाचन क्षेत्र बढाउने माग त झन एमालेका लागि घातक हो । विहार र युपीका नागरिकले मत हाल्ने षडयन्त्रस्वरुप मधेसमा बढाउन लागिएको निर्वाचन क्षेत्र संख्या यो अवस्थामा झन् एमालेले मान्ने कुरै भएन । एक त त्यो राष्टहितविपरीत हुने र अर्को एमालेको आगमी गणितमा असर पर्ने । यी दुवै कारणले पनि एमालेले यतिवेला संविधान संशोधनको नाम पनि सुन्न चाहेको छैन ।
त्यतिमात्र होइन उसँग निकट रहेको राजनीतिक शक्तिलाई समेत एमालेले सचेत गराइरहेको छ । तर स्थानीय चुनावमा तालमेल गरेरे पनि धोका पाएका कमल थापाले भने अब एमालेको कुरा सुन्ने अवस्थामा देखिँदैनन् । तर, नयाँ सन्देह देखिएको छ : एमाले जसको एजेण्डाको विरोधमा थियो उसैसँग नजिकिँदै छ । यसलाई भने स्वभाविक मान्न सकिन्न । कुरा के हो समयक्रमसँग बाहिरा आउला ।












