अभय राई
२५ असार, विराटनगर । विराटनगर महानगरपालिकामा मेयर र उपमेयरसहित ७ वडामा कांग्रेस विजयी भएको छ । मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसकै इन्दिरा कार्कीले जितेकी छिन् । शनिबार मध्यरातमा सकिएको मत गणनाको परिणामअनुसार पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढकालले १७३२१ मत पाएका छन् ।
उपमेयरमा निर्वाचित इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् ।
विराटनगरमा कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, संघीय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । विराटनगरमा मेयर र उपमेयरसहित सात वडामा कांग्रेसको जीतले केन्द्रीय नेतृत्व समेत उत्साहित बनेको छ । विराटनगरमै रहेका कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले नवनिर्वाचित मेयर र उपमेयरलाई भेटी बधाइ दिएका छन् ।
महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले मेयर पदमा विजय हासिल गरेका थिए । काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ । मतगणना सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित हासिल गरेका छन् । वीरगञ्ज महानगरमा निर्वाचन हुन बाँकी छ भने भरतपुरमा मतगणना रोकिएको छ ।














