२४ असार, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी सुरु गरिसकेको आयोगले जनाएको छ । मतदाता नामावली संकलन चाँडै सुरु गर्ने प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताएका छन् । मतदाताको नामावली अध्यावधिक कसरी गर्ने भन्ने छिट्टै कार्यविधि बनाइने उनले जानकारी दिए । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि कानुन र कहिले गर्ने हो मिति घोषणा गर्नु पर्ने उनले बताए । ‘निर्वाचन क्षेत्र निर्धारण गरेका प्रतिवेदन चाहियो । मतदाता नामावली त्यही अनुसार तयार गर्नु पर्ने हुन्छ,’उनले भने, ‘कर्मचारी परिचालन त्यस अनुसार खटाउछौं ।’
निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नै मतदान गर्न नपाएको गुनासो आएपछि आगामी निर्वाचनमा अग्रिम निर्वाचन गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको प्रमुख आयुक्त यावदले बताए । ‘स्थानीय ठेगाना जहाँ हो, त्यही ठाउमा भोटिङ गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘मतदान गर्ने अधिकारबाट बञ्चित नगर्न मतदान गर्ने दिन भन्दा अघि नै निश्चित ठाउँमा मतदान गर्ने व्यवस्था गर्न लागेका हौ । यो व्यवस्थाले कोही विदेश जाने हुन सक्छ । भोट हालेर जान सक्छन् । मतदानमा खटिने कर्मचारी नै मतदान गर्न नपाउने व्यवस्था हट्ने छ ।’












