२२ असार, काटमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको सबै मतपरिणाम आउन बाँकी रहे पनि सत्ता साझेदार कांग्रेस र माओवादी सत्ताको भागवण्डा मिलाउने कसरतमा व्यस्त बनेका छन् । दुई दलले २० मन्त्रालय आफूहरुले लिने र बाँकी मन्त्रालयमा अन्य दललाई भागबण्डा मिलाउने अन्तिम कसरत उनीहरुले गरेका छन् । यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्तारुढ कांग्रेस-माओवादी नेताबीच बुधबार सरकारमा र्कति राजनीतिक दललाई ल्याउने र मन्त्रालय भागबण्डा कसरी टुंग्याउने भन्नेमा छलफल भएको थियो ।
स्रोतका अनुसार संघीय समाजवादी फोरमले समेत सरकारमा आउने संकेत दिएको छ । फोरमलाई समेत सम्मानजनक हैसियतमा ल्याउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ । कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई समर्थन जुटाउने कसरत पनि यही बेला तीव्र पारेका छन् ।
राप्रपाको समर्थन भए एमालेबाहेक दुई तिहाई समर्थन पुग्ने अवस्था देखिएको सरकारमा सम्मिलित दलका नेताहरुले बताएका छन् । तर राप्रपाको चरित्र अत्यन्त धोकेवाज रहेकोले भरोसा गरिहाल्न सकिने अवस्था नरहेको दुवै दलको बुझाइ छ । गत बैशाख १७ गते संविधान संशोधन विधेयकमाथि मतदान गर्ने सरकारको तयारी भइरहेका बेला राप्रपाका दश सांसद अचानक अनुपस्थित बनेका थिए । राप्रपा अध्यक्ष कमल थापाले राजालाई आरोप लगाउँदै यसबाट बच्न खोजेका थिए । तर थापाकै दोहोरो चरित्रका कारण यतिवेला कांग्रेस र माओवादी सशंकित बनेका छन् ।












