२१ असार, बुटवल । संविधान संशोधनमार्फत सिमांकन फेरबदल गर्ने कांग्रेस-माओवादीको निर्णयविरुद्ध आन्दोलन उर्लिएको वुटवल नगरपालिकामा एमालेले गतिलो जवाफ दिँदै मेयर र उपमेयरसहित १६ वडामा विजय हासिल गरेको छ । त्यतिमात्र होइन मधेस आन्दोलनमा गरिएको नाकाबन्दीविरुद्ध प्रतिकार गरेको सहर पनि हो वुटवल । नाकाबन्दी र बन्द हडतालको विरुद्धमा वुटवलमा उर्लिएको जनसागरले भैरहवामा पुगेर समेत बन्द हड्ताल र नाकाबन्दीविरुद्ध हस्तक्षेप गरेको थियो । वुटवल र सो आसपासका जिल्लाहरुलाई सिमांकन बदल्ने कांग्रेस र माओवादीको निर्णयविरुद्ध जनता आन्दोलित भएपछि सो क्षेत्रका कांग्रेस नेता चन्द्र भण्डारी र माओवादी नेता टोपबहादुर रायमाझी समेत सोही आन्दोलनको समर्थन जनाउन बाध्य भएको थिए ।
जनताको भावनाविपरीत गरिएको कांग्रेस र माओवादीले यतिवेला जनताले दिएको दण्डको स्वाद चाखेका छन् । जनताको चाहनाविपरीत प्रायोजित मधेसी दलको योजनामा सिमांकन कायम गर्न खोजेको भन्दै वुटवलका जनताले कांग्रेस र माओवादीलाई दण्ड दिँदै एमाले उम्मेदवारलाई जनप्रतिनिधि चयन गरेका छन् । वुटवल आसपासको जनमत कांग्रेस र माओवादीको कमजोर होइन । यद्यपि अझ बलियो बन्न कांग्रेस र माओवादीले वुटवलमा गठबन्धन समेत गरेका थिए । तर ती दुवै दलको गठबन्धनको हरिविजोग भएको छ ।
वुटवलमा मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ र उपमेयरमा गोमा आचार्य २५ हजार ३०१ मतसहित विजयी भएका छन्।
उनीहरुले कांग्रेस(माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डे र जगत पोखरेललाई फराकिलो अन्तरमा पराजित गरेका हुन् । खेलराजले २० हजार ८५१ र जगतले १४ हजार ४९२ मत पाए ।
वडा तहमा पनि एमालेले बहुमत स्थानमा जित हासिल गरेको छ । वडा तहमा जनमुक्ति पार्टीसँग समेत मिलेको कांग्रेस जम्मा ३ वडामा सिमित भएको छ ।
५ नम्बर प्रदेश बिभाजन विरुद्धको आन्दोलनको केन्द्र रहेको बुटवलको चुनाव दोस्रो चरणको स्थानीय चुनावमा सबैभन्दा चर्चा र चासोका रुपमा रहेको थियो । कांग्रेस र एमालेको सो निर्णय जनताको पक्षमा थियो या अरु कसैको पक्षमा थियो भन्ने स्वाद जनताले चखाएका छन् । अझै पनि यो कुरा सत्ताको स्वादमा रमाइरहेका कांग्रेस र माओवादीको दिमागमा घुस्ने हो कि होइन भन्न सकिने अवस्था छैन ।












