२१ असार, झापा । स्थानीय तह निर्वाचनमा झापाको गौरीगञ्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जीत हासिल गरेको छ । राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित भएका हुन् ।
उनले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गरेका थिए ।
यसैगरी, गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्षमा भने काँग्रेसका दीपेन्द्र थापा निर्वाचित भएका छन् । ६ वटा वडा रहेको सो गाउँपालिकाको वडामा काँग्रेसले चार र नेकपा माओवादी केन्द्र, र नेकपा एमालेले एक/एक वडामा जीत हासिल गरेका छन्। काँग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गनगाई वडाध्यक्षमा निर्वाचित भएका छन् । राप्रपाले योसँगै झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पनि प्रमुख पदमा विजय हासिल गरेको थियो । दोस्रो चरणको निर्वाचनमा राप्रपाले झापाबाट मात्रै उल्लेख्य जीत हात पारेको हो ।












