२१ असार, काठमाडौं । आफ्नो नागरिकता हराए प्रतिलिपि निकाल्न पाइन्छ भनेर ढुक्क नहुनुहोस् । तपाईंको नागरिकताको दुरुपयोग गरेर पशेवर आपराधिक समुहले मानिसको हत्या गर्नेदेखि विभिन्न आपराधिक कार्य गर्ने गर्दछन् । नागरिकताको सक्कल मात्र होइन फोटोकपी पनि जथाभावी ठाउँमा दिनबाट सचेत हुनुहोस् नत्र तपाईं नै अपराधी बन्न सक्नेसम्मको अवस्था आउन सक्छ ।
यस्तै पछिल्लो घटनाको रुपमा आएको छ दाङका व्यवसायीको अपहरण र त्यसपछिको हत्या ।
दाङका व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्या गर्ने व्यक्तिले अपहरणकारीले अरूको नाममा सिमकार्ड निकालेर प्रयोग गरेका पत्ता लागेको छ । यसको पत्तो लगाउन पनि प्रहरीलाई धेरै समय लागेको थियो ।
‘अपहरणको योजनाकै लागि अपहरकारीले अरूको नागरिकताबाट सिमकार्ड निकालेको दाङ एसपी धीरजप्रताप सिंहले जानकारी दिए ।
तुलसीपुरका टीकाराम घर्तीले आफ्नै २० वर्षीया छोरी पूजा घर्तीमगरलाई प्रयोग गरी व्यवसायी श्रेष्ठको अपहरण गरी हत्या गरेका थिए । अपहरणकै उद्देश्यले उनीहरूले नचिनेका व्यक्तिहरूको नागरिकताको फोटोकपी प्रयोग गरेको प्रहरीले जनाएको छ । गत २६ जेठमा श्रेष्ठको अपहरण भएकोमा ११ असारमा मात्र अपहरणकारी पक्राउ परेका थिए । अपहरणका मुख्य योजनाकार अझै फरार छन् । पेशेवर आपराधिक समूहबाट हुने धेरैजसो योजनाबद्ध अपराध यसैगरी अन्य व्यक्तिको नाममा सीमकार्ड निकाल्ने गरिएको छ ।
एउटै समुहसँग दुई दर्जन सिमकार्ड
‘
हनी ट्र्यापिङ’ अर्थात् सुन्दर युवती प्रयोग गरी अपहरण गरी पैसा असुल्दै आएको शुक्रे लामाको समुहले अन्य व्यक्तिको नाममा दुई दर्जन सिमकार्ड निकालेको थियो । सो समुहले त्यही सिमकार्डबाट व्यापारीलाई फोन गर्दै नजिकिएर अपहरण गर्दै आएका थिए । अनुसन्धानका क्रममा रसुवाको एक गाउँमा कार्यरत महिलाको नागरिकताबाट उनीहरूले सिम निकालेको खुल्यो । जसकारण अपहरणका गिरोहसम्म पुग्न प्रहरीलाई निकै समस्या भयो । घटनाको ६ महिनापछि सिआइबीले गिरोहका ६ जनालाई पक्राउ गरेको थियो । ‘जभाभावी सिम वितरणले सुरक्षामा ठूलै समस्या निम्त्याएको छ,’ सिआइबीका निमित्त प्रमुख एसएसपी शेरबहादुर बस्नेत भन्छन्, ‘यस्तै हो भने अपराध प्रहरी नियन्त्रणबाहिर जान्छ ।’ सिम वितरणलाई व्यवस्थित गर्न आफूहरूले लामो समयदेखि पहल गर्दै आए पनि सम्बन्धित निकायले चासो नदिएको उनी बताउँछन् । सिम बिक्री गर्दा सम्बन्धित व्यक्तिको विस्तृत विवरणसहित अर्को एक सम्बन्धित व्यक्तिको विवरणसमेत राख्नुपर्ने उनी बताउँछन् ।
पछिल्लो केही समययता पसल–पसलबाट सिमकार्ड बिक्री हुँदै आएको छ । नागरिकताको फोटोकपीकै आधारमा सजिलै सिमकार्ड किन्न पाइन्छ । कतिसम्म भने नागरिकता सक्कली हो कि नक्कली भन्नेसमेत कुनै ‘क्रसचेक’ हुँदैन । अरूको भेट्टाएको नागरिकताबाट पनि सजिलै सिमकार्ड निकाल्न सकिन्छ । एउटा नागरिकताको फोटोकपीका आधारमा जति पनि सिमकार्ड निकाल्न सकिन्छ । सिमकार्ड दर्ता र वितरण प्रणाली खुकुलो हुँदा अपराधीलाई सहज भएको छ भने अपराध नियन्त्रण गर्न प्रहरीलाई समस्या भएको छ । खासगरी अपहरण, धम्की, ठगीजस्ता अपराधमा नक्कली नागरिकताबाट निकालिएका सिमकार्ड प्रयोग हुन थालेको प्रहरीले जनाएको छ । कल बाइपासका लागि समेत यसरी एउटै नागरिकताबाट सयौँ सिमकार्ड निकालिएका उदाहरण छन् । धेरैजसो एनसेलका सिमकार्ड अपराधमा दुरुपयोग हुने गरेको नयाँपत्रिका दैनिकको समाचारमा उल्लेख छ ।
राष्ट्रिय परिचयपत्रपछि रोकिने आशा
गृह मन्त्रालयले सुरु गर्न लागेको राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा आएपछि नक्कली नागरिकता र सिमको दुरुपयोग रोकिनेछ । राष्ट्रिय परिचयपत्र औँठाछापसहितको डिजिटल हुने भएकाले अरूको नागरिकता दुरुपयोगको सम्भावना कम हुन्छ ।













