१९ असार, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह क्षेत्र सुदूरपश्चिमको विकासका लागि विशेष परियोजना संचालन गर्ने बताएका छन् । कैलाली पुगेका देउवाले प्रदेशन नं ७ का सबै स्थानहरुमा बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा व्यवस्था गर्दै विकास र समृद्धि हासिल गराउने आश्वासन दिए ।
आज कैलालीमा आयोजित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने बताए।
देउवाले भने – “सुदूरपश्चिमको विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ ।”
अहिलेसम्म भएका पूर्वाधारसँगै थप विकासका लागि सरकारले आवश्यक गृहकार्य गर्ने पनि प्रधानमन्त्रीले बताए । उनले भने – “किसानले उत्पादन गरेको कृषि उपज सहज रुपमा बजारसम्म पु¥याउन सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।”
सुदूरपश्चिम प्राकृतिक साधन स्रोतले सम्पन्न भएकाले त्यसको सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो ।
प्रधानमन्त्री देउवाले भने – “प्राकृतिक साधन स्रोतको योजनाबद्ध रुपमा व्यवस्थापन गरी अगाडि बढ्ने काम हुनेछ । यसले रोजगारीका अवसर सिर्जना गर्नेछ ।”
उनले भने – “हिमाली क्षेत्रका दुर्लभ जडीबुटी र वन सम्पदाको सही सदुपयोग गर्न सकियो भने पनि यो क्षेत्रबाट युवाको पलायन रोकिने छ ।”
जलस्रोतको अपार सम्भावना रहेको ७ नं प्रदेशमा पश्चिमसेती, पञ्चेश्वरजस्ता बृहत्तर विकास परियोजनालाई अगाडि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए।
पञ्चेश्वर र पश्चिमसेतीजस्ता जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेको बताउँदै प्रधानमन्त्रीले भने – ”संविधान कार्यान्वयनसँगै अब सुदूरपश्चिममा मात्र नभई समग्र देशको विकासले गति लिनेछ ।”
पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले ७ नं प्रदेश विकासका दृष्टिमा पछि पर्नुको कारण खोजी गरी विकास गर्ने संस्कृतिको पनि विकास गर्नु जरुरी देखिएको बताए ।













