१७ असार, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कतिपय स्थानमा मतपेटिकामा रहेको मतको सङ्ख्या र मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्यामा भिन्नता देखिएको छ । यस्तो अवस्थाले कतिपय स्थानमा मतगणनाकै क्रममा विवाद उत्पन्न भएको छ ।
यो विवाद समाधानका लागि निर्वाचन आयोगले निर्देशन दिँदै मतपेटिकामा रहेका मतको सङ्ख्यालाई नै आधार मान्न निर्देशन दिएको छ । मतगणनाको क्रममा देखिएको मतपत्रको सङ्ख्यामा फरक परेका स्थानमा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको थियो ।
यही असार १४ गते दोस्रो चरणमा सम्पन्न गाउँपालिका÷नगरपालिका निर्वाचनको मतगणनाको क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको सङ्ख्यामा फरक परेका घटना देखिएपछि आयोगले पछिल्लो निर्णय लिएको हो ।
रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेकोमा मतपेटिकामा देखिएको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
तर निर्वाचन अधिकृतले उल्लेख गरेअनुसारकै सङ्ख्यामा मतपेटिकामा मतपत्र नहुनुलाई रहस्यपूर्ण मानिएको छ ।












