१६ असार, काठमाडौं । नेकपा एमालेका राजनीतिक कार्यक्रम विथोल्दै र उसका कार्यकर्तामाथि भौतिक आक्रमण गर्दै आएको मधेसकेन्द्रित दल राजपाले ‘यु टर्न’ गर्दै एमालेसँग सहकार्य गर्ने तयारी गरेको छ । राजपाका माग सम्बोधन गर्न साथ दिँदै आएका कांग्रेस र माओवादीलाई धोका दिँदै राजपा अब एमालेको कित्तामा उभिन लागेको हो । कांग्रेस र एमाले सम्मिलित सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराएकोले देशलाई अस्थिरताको भूमरीमा राख्न नसकेपछि राजपा अब एमालेसँग नजिकिन थालेको हो । प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर सरकारलाई अप्ठेरो पार्ने योजनाअनुरुप राजपा नयाँ दाऊमा लागेको बुझिएको छ ।
अर्कोतिर एमालेमाथिको आक्रमणमा उत्रिएको राजपालाई मधेसी जनताले नै बहिष्कार गरेपछि एमालेको पुच्छर समातेर उत्रने दाऊ पो राजपाको हो कि ? हेर्नुहोस् आजको अन्नपूर्णपोस्टमा चिरञ्जीवी ढुंगानाले लेखेको समाचार :
(राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने स्रोतले दाबी गरेको छ ।
असार २१ मा बस्ने बैठकमा अध्यक्ष महन्थ ठाकुरले सरकारबाट समर्थन फिर्ता लिनेसम्बन्धी प्रस्ताव राख्नुहुने स्रोतले उल्लेख गरेको छ । देउवालाई प्रधानमन्त्री चयन गर्दा पक्षमा मतदान गरेको राजपाले साउन १९ मा कांग्रेस, माओवादी केन्द्र र तत्कालीन मधेसी मोर्चाका सात घटकसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोख्दै आएको छ ।
देउवाले पुनः प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन त परै, दोस्रो स्थानीय तहको निर्वाचनका नाममा तराई–मधेसमा सेना परिचालन गरेको, शान्तिपूर्ण विरोधमा उत्रेका कार्यकर्तालाई गिरफ्तार गरेको र गोली प्रहार गर्नेसम्मका कार्य गरेको आरोप राजपाले सरकारलाई लगाएको छ ।
राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आगामी २१ गते बस्ने अध्यक्षमण्डलको बैठकले वर्तमान सरकारको भविष्यकै बारेमा ठोस निर्णय गर्ने बताउनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘सरकारले चुनावका नाममा सेना परिचालन गरी शान्तिपूर्ण आन्दोलनमाथि चलाएको गोली र मधेसीमाथिको गिरफ्तार लोकतन्त्रमाथिको मजाक र एकतन्त्री शासनको झझल्को हो ।’
निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएका एमाले अध्यक्ष केपी शर्मा ओली र राजपा शीर्ष नेताहरूबीच देउवा सरकारको भविष्यकै बारेमा समेत अनौपचारिक गृहकार्य भइरहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।देउवाले आफू प्रधानमन्त्री भएलगत्तै संविधान संशोधन र जनसख्ंयाका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रतिबद्धता जनाए पनि अवज्ञा गरेको राजपाको आरोप छ ।
प्रदेश नं. २ र ५ को निर्वाचन रोक्ने सहमति गरेको २४ घन्टा नबित्दै प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकपछि प्रदेश २ को मात्रै चुनाव सारेपछि राजपाका नेताहरू देउवासँग चिढिएका छन् । सरकारलाई दिएको समर्थन एक महिनाभित्रै फिर्ता लिने अनौपचारिक निष्कर्षमा राजपा अध्यक्षमण्डल पुगिसकेको जानकारी स्रोतले दियो ।
राजपाका अध्यक्ष ठाकुरले २१ गते बस्ने बैठकमा स्थानीय तहको दोस्रो चरणको चुनवाको समीक्षा, राजपाले लिने रणनीति, सरकारलाई दिँदै आएको समर्थन र सरकारको भविष्य निर्धारणसम्बन्धी प्रतिवेदन पेस गर्नुहुने भएको छ ।
राजपाको २१ गते बस्ने बैठकका निर्णय राजपाको मात्र नभएर संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग सहकार्य, सहमतिको आधार र प्रक्रियाअनुसार मिल्न सक्ने एक नेताले बताउनुभयो । आगामी प्रदेश र संसद् केन्द्रको चुनावका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने गृहकार्यमा एमाले नेतृत्व लागिरहेको छ ।
राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले वर्तमान सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता लिने विषयमा आगामी बैठकले निर्णय लिनसक्ने बताउनुभयो । सरकारले शान्तिपूर्ण आन्दोनलमाथि गरेको वर्वरतापूर्ण दमनको प्रतिरोध राजपाको आगामी बैठकले गर्ने जानकारी दिनुभयो ।)












