१६ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना धमाधम भैरहेको छ । मतगणनाले देखाएको नतिजाअनुसार यस चुनावमा कांग्रेसले एमालेलाई धेरै ठाउँमा उछिनेको छ । पहिलोचरणको निर्वाचनमा बढी स्थानमा जितेको एमालेले मतगणनाकै क्रममा आफू पछाडि परेपछि अत्तालिएको छ । एमालेका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोस पोख्दै कांग्रेस र माओवादीले कतिपय ठाउँमा कार्यगत एकता गरेकोमा चिन्तित देखिएका छन् । कतिपय कार्यकर्ताले त मत एकै ठाउँमा भएपछि कांग्रेस र माओवादी पार्टी एउटै बनाए हुने भन्दै व्यङ्ग्य गर्न थालेका छन् ।
मौन समय सुरु भएपछि पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी ओलीलाई बोल्न लगाउने प्रेस चौतारीमा संलग्न पत्रकारहरुले समेत कांग्रेस र माओवादीप्रति आक्रोश पोखिरहेका छन् ।
स्मरणीय छ पहिलो चरणको निर्वाचनमा एमालेले काठमाडौंको चुनावमा राप्रपासँग गठबन्धन गरेको थियो । राप्रपाकै भोटले काठमाडौंमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले जित हासिल गरेका थिए ।












