१५ असार, काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत समग्रमा ७३.६९ प्रतिशत र प्रदेश नं ५ मा ७५ प्रतिशतभन्दा बढी प्रतिशत मत खसेको निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कले देखाएको छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा समग्रमा ७३.६९ प्रतिशत मतदान भएको भएको विहीबार निर्वाचन आयोगले जानकारी दिएको हो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणानुसार प्रदेश नं १ मा ७२.४९, प्रदेश नं ५ मा ७५.३४ र प्रदेश नं ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ ।
यसैगरी ती प्रदेशका ३३४ स्थानीय तहमध्ये बिहान १६८ भन्दा बढी स्थानीय तहमा मतगणना सुरु भएको आयोगद्वारा विहीबार जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा प्रदेश नं १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको उल्लेख छ ।












