१५ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना सुरु भएसँगै विभिन्न स्थानका वडाहरुका अध्यक्ष निर्वाचित हुने क्रम सुरु भएको छ । हालसम्म मतगणना सुरु भएका १७० स्थानमध्ये तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै सुरुवाती प्रतिश्पर्धा देखिएको छ । यसका साथै उपेन्द्र यादव र विजय गच्छदारका दुई दुई फोरम समेत तराईका स्थानहरुमा प्रतिश्पर्धीका रुपमा देखिएका छन् ।
पहिलो चरणको निर्वाचनमा राम्रो मत ल्याउन नसकेको माओवादी केन्द्र दोस्रो चरणको निर्वाचनको सुरुवातीमा चरणमा भने धेरै स्थानमा अगाडि देखिएको छ । पश्चिम नेपालका जिल्लाहरुमा माओवादी केन्द्र अधिकांश स्थानमा अगाडि देखिएको छ । पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै स्थान जितेको एमाले यसपल्ट भने अधिकांश स्थानमा कांग्रेस र माओवादीभन्दा पछाडि देखिएको छ ।
सुरुवाती चरणकै अवस्था कायम रहने हो भने दोस्रो चरणको परिणाममा एमालेले ठूलो धक्का व्यहोर्ने देखिएको छ । यो चरणको निर्वाचनमा कांग्रेस पहिलो दलका रुपमा आउने अवस्था प्रारम्भिक अवस्थामा देखिएको छ भने माओवादी र एमालेबीच दोस्रो को हुने भन्ने तीव्र प्रतिश्पर्धा हुने लक्षण देखिएको छ ।












