क्रन्दन चापागाई
९ असार, २०७४ (काठमाडौं) ।
विहानीले दिनको संकेत गर्छ भन्ने नारा एमाले वृत्तमा खुबै प्रचलित छ । र, त्यही नाराले एमाले अहिलेसम्म जिवित पनि छ । किनभने एमालेको नेतृत्वमा बनेको पहिलो सरकारको ब्याज खाएरै अहिलेसम्म पनि त्यसैको गन्ध बेचेर स्थानीय चुनावमा मत ल्याइरहेको छ । विहानीले दिनको संकेत गर्छ भनेजस्तै एमाले सरकारमा गयो भने जनताको काम गर्छ भन्ने कुरा मनमोहन अधिकारी नेतृत्वको सरकारले देखाएकै हो । तर अहिले स्वर्गीय नेता अधिकारीले सुरु गरेको विहानीको दिन छैन ।
अधिकारीले सुरु गरेको दिन विहानीमात्रै होइन दिन र रात पनि समाप्त भएको छ र उदाएको छ केपी ओलीले सुरु गरेको विहानी । र, त्यो विहानीका सूर्य भएर उदाएका छन् ओलीका साला विद्यासुन्दर शाक्य देशको राजधानी काठमाडौंमा । शाक्यले यो विहानीको सुरुवात् गरेका छन् चुनाव जितेपछि मोज गर भन्ने नीतिबाट ।
ओलीका साला न परे हत्त न पत्त सुविधाभोगको निर्णय गरेका शाक्यका कारण दोस्रो चरणको निर्वाचनमा एमाले बढारिने संकेत देखियो । राष्ट्रवादको नारा दिएर तस्करलाई तेल बेच्न छुट दिएर राष्ट्रघात गरेका ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेपछि आफूनिकटबाहेकका कसैलाई अवसर नदिएको कुरा घामजस्तै छर्लङ छ । महानगरको टिकट पाउने कल्पना समेत नगरेका शाक्यले ओलीकै आशीर्वादका कारण टिकट मात्र पाएनन् ओलीकै योजनामा मेयर समेत बने । शाक्यलाई जिताउने ओलीले राप्रपासँग तालमेल गर्नेदेखि कांग्रेसलाई कमजोर गराउन रञ्जु दर्शना उभ्याएको विषय चर्चामा आइसकेकै छ ।
सन्दर्भ हो विहानीले दिनको संकेत गर्ने । स्वर्गीय नेताले सुरु गरेको विहानीपछि भदौ १२ को कालो रात आएकै हो । त्यसपछि सुरु भएका नेपालका काला रातले अधिकारीको विहान बाँकी राखेको छैन ।
बाँकी छ मनमोहन अधिकारीको अस्तुका रुपमा वृद्ध भत्ता । देश परिवर्तनका संवाहक युवा हुन् र युवाले नै देशमा मात्र होइन विश्वमा परिवर्तन ल्याएका हुन् । २०४६ सालमा बहुदल आउँदा कम्युनिस्टविरुद्ध कांग्रेसले छरेको भ्रम निवारणका लागि मात्रै वृद्धभत्ता सञ्जिवनी बनेको पनि छैन । कम्युनिस्टको शासन आए ६० वर्षमा गोली ठोकेर मार्छ रे भनेर कांग्रेसले छरेको भ्रम हटाउनका लागि मात्रै यो काम उपयोगी बन्यो । अधिकारी सरकारले सुरु गरेको वृद्धभत्ता खल्तीमा हाले पनि हिजोदेखिका कांग्रेसी वृद्धहरुले सूर्यमा भोट अहिले पनि हाल्दैनन् भन्ने कुरा एमालेजनलाई प्रष्टै थाहा छ ।
कांग्रेस र एमालेका नेताहरुको गतिविधिले उनीहरु जनताबाट तिरस्कृत भएको फाइदा उठाउँदै ज्ञानेन्द्रले कालो रात ल्याएकै हुन् । मिडिया र जनताको पुन सहयोगबाट उठेका नेताहरुले यो कुरा विर्सिसकेका छन् र भोलि विहान हुँदैन भन्ने मनसायबाट आजै लुटौं भन्ने योजनामा लागेका छन् । त्यही ज्वलन्त उदाहरण हो एमाले जनप्रतिनिध विद्यासुन्दर शाक्य र कांग्रेस जनप्रतिनिधि हरिप्रभा खड्गीको । उनीहरुले मोबाइलबाट सुरु गरेको ऐयासी जीवनशैलीलाई नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटा यसरी व्यङ्ग्य गरेका छन् ।
सामाजिक सञ्जालमा भएका यस्तै विरोधका कारण कामपा प्रमुख शाक्यले मोबाइल सुविधा अहिलेलाई थाँती राखेको विज्ञप्ती जारी गरेका छन् । शाक्यले अहिले यो सुविधा स्थगित मात्रै गरेका हुन् बदर वा खारेज गरेका होइनन् । दोस्रो चरणको निर्वाचनपछि यो सुविधा उपभोग गर्ने योजनामै यो गरिएको प्रष्ट हुन्छ । दोस्रो चरणको निर्वाचनमा एमालेलाई प्रत्यक्ष असर गर्ने भएको भन्दै बालकोटबाट ओली भेनाले फोन गरेका कारण मात्रै शाक्यले यसलाई तत्कालका लागि स्थगित गरेका हुन् । हेर्नुहोस् प्रेस विज्ञप्ती :
उनको यो निर्णयमा मोरङको कथा पनि जोड्न लायक छ । एमालेबाट उम्मेदवार बन्नका लागि त्यागी नेताबाट समेत लाखौं रकम माग भएपछि मोरङका एक नेताले एमाले नै परित्याग गरेको समाचार पनि यसैबीचमा आएको छ ।
हो, त्यसैले एमालेले भन्ने गरेको विहानीले दिनको संकेत गर्छ भनेझैं शाक्यले राजधानीबाट सुरु गरेको विहानी देशभर घाम भएर नजाने कुरै छैन । राजधानीमा एमालेको सूर्यले सुरु गरेको यो विहानीले भने एमालेलाई कता लग्ने हो त्यो असार १४ पछि नै थाहा हुने छ । यो अवस्थाले एमालेलाई मात्रै होइन देश नै फेरि कालरात्रितिर पो धकेलिने हो कि भन्ने प्रश्न पनि गम्भीर रुपले उठेको छ ।
चुनावपछि जनप्रतिधिले जनतालाई भेडा ठान्ने गरेको तितो यथार्थता सबैलाई थाहै छ तर यतिवेला भने नजिर ताजै देखेका वेला चुनावअघि न्यायधीश बन्ने मौका पाएका जनताले फैसला के गर्ने हुन् उनैले जानून् ।














