९ असार, चितवन । नारायणघाट मुग्लिङ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जना प्रहरीको मृत्यु भएको छ भने दुई प्रहरी वेपत्ता छन् । भ्यानमा रहेका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दीपक मास्केको मृत्यु भएको हो । पुरिएको अवस्थामा उनीहरुको शव निकालिएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिएका छन् । भ्यानमै सवार रहेका प्रहरी जवानहरु सन्दीप कार्की र लिलबहादुर चेपाङको खोजी कार्य जारी रहेको छ ।
पहिरोले एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको खबर पाएपछि प्रहरी त्यसतर्फ गएको थियो । पहिरोको अवस्था र ट्रक पुरिएको विवरण लिएर प्रहरी फिर्ता हुने क्रममा भ्यान नै पहिरोले पुरिएको हो । पहिरोले ना १ झ १३९० नम्बरको प्रहरी भ्यान पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार ना ५ ख ७८२७ नम्बरको ट्रक पहिरोले सोहोरेर त्रिशुली नदीमा खसाएको छ । ट्रकका सहचालक मकवानपुर मनहरीका १९ वर्षीय सानु भोलन गम्भीर घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि भरतपुर ल्याएको छ । ट्रक चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख दिपक थापा, ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त लगायतको टोली पुगेको छ ।
पहिरोका कारण बाटो अबरुद्ध भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनका सैयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।












