४ असार, २०७४ (रुपन्देही) । स्थानीय तह निर्वाचन बहिष्कारको आन्दोलन गरिरहेको राजपाका कार्यकर्ताले समेत चुनावका लागि उम्मेदवारी दिएका छन् । पार्टी नेतृत्वले चुनावको चर्को विरोध गरे पनि पाँच नम्बर प्रदेशको रुपन्देही जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन बहिष्कारसहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीले पनि लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका सहितका नौ वटा स्थानीय तहमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका राससले जनाएको छ ।
सिद्धार्थनगरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका राजपाका जिल्ला नेता रामअवध गुप्ताले जनताले आन्दोलनभन्दा पनि निर्वाचन चाहेकाले जनभावनानुरुप आफूहरुले उम्मेदवारी दर्ता गरेको बताए ।
राजपाका नेताहरुले सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पूर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका हुन् । यो साविकको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँपालिकाहरु हुन, जसलाई राजपा नेता शर्वेन्द्रनाथ शुक्लाको पकड भएको क्षेत्र मानिन्छ । उनीहरूलाई राजपाले नभई शुक्लाले नै उम्मेदवार बनाएको स्रोतको दाबी छ ।
प्रत्येक गाउँपालिकाको ३७ वटै पदमा गरी ३ वटा गाउँपालिकामा १ सय ११ पदमा नेता शुक्लाका समर्थक कार्यकर्ताहरुले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएको स्रोतले बताएको छ ।
सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल र उपाध्यक्षमा कमालुद्दिन शेख स्वतन्त्र उम्मेदवार बनेका छन् । त्यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृत कमल पन्थीले स्वतन्त्र उमेदवार कुन पार्टी वा कसको समर्थक भएको विषयमा आफुलाई आधिकारिक रुपमा जानकारी नभएको बताउँदै सम्पुर्ण पदमा स्वतन्त्र उमेदवारी दर्ता भएको बताए ।
उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा नवलपरासीमा तनाव देखिएको भएपनि मनोनयनको दिन आइतवार भने मनोनयन शान्तिपूर्ण भएको छ । नवलपरासीको महेशपुर क्षेत्रमा पनि राजपा कार्यकर्ताले उम्मेदवारी मनोनयनको तयारी गरेका छन् ।












