३ असार, २०७४ (काठमाडौं) । छिमेकी देशहरुले कतारमाथि गरेको नाकाबन्दी र कुटनीतिक सम्बन्ध विच्छेदका कारण त्यहाँ विकास निर्माणमा प्रत्यक्ष असर देखिन थालेको छ । विदेशी कामदारका भरमा विश्वकपको संरचना निर्माण गरिरहेको कतारलाई कामदारको अभाव पर्ने देखिएको छ भने नेपाललगायतका देशबाट कामको खोजीमा कतार जाने नेपालीलाई समेत अब समस्या पर्ने देखिएको छ । कतार जान तम्तयार भएर बसेका नेपाली कामदार अन्योलमा परेका छन् भने कतारबाट विदामा घर फर्किका कामदार फेरि त्यहाँ फर्कने क्रममा कमी आएको छ ।
हालै मात्र कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रुडेन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो । निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति राखेको छ ।
‘जुन कम्पनीलाई कामदार पठाउदै थियौं । उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रोडुन्सियलका सञ्चालक नारायण पराजुलीले भने, ‘रमजान महिना चलिरहेकोले काम सुस्त छ भन्ने सुचना मात्रै दिइएको छ ।’ रमजान भनिए पनि कतारमा लागेको नाकाबन्दीका कारण धेरै कम्पनी पर्ख र हेरको अवस्थामा छन् ।
जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइनसहित ९ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको छ । साउदी, युएई र बहराइनले जल, हवाई र स्थल यातायातसमेत रोकेर कतारलाई नाकाबन्दी गरेको छ ।
नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौ म्यानपावरको काम केही सुस्ताएको छ । रोजगारदाता कम्पनी विकसित घटनाक्रम हेरेर मात्रै कामदार ल्याउने सोचाईमा पुगेपछि कामदार भर्ना प्रक्रिया सुस्त भएको म्यानपावरको बुझाई छ । ‘रोजगारदाता कम्पनी पछिल्लो कतारको अवस्थाबारे केही बताएको छैन्,’ पराजुलीले भने, ‘उनीहरु पर्ख र हेरको अबस्थामा छन् कि जस्तो लाग्छ ।’
कतारको बदलिदो अवस्थाले वैदेशिक रोजगारीमा जान खोज्ने नेपाली कामदार पनि अन्यौलमा छन् । ‘जुन २६ र जुलाई ५ तारिखको लागि अन्तर्वार्ता राखेको छु । एउटै कम्पनीको लागि तीनसय कामदार पठाउँदैछु,’ ओशो रिक्रुटिङ एजेन्सीका सञ्चालक लक्ष्मण विश्वकर्माले भने,‘जान इच्छुक कामदारको मनमा अलिअलि हिचकिचावट रहेको पाएँ ।’
हाल रमजानका कारण कतारमा कामदारको आपूर्ति कम भएको बताइए पनि अहिले ठूलो गिरावट आउनुमा बदलिएको अवस्थाले पनि असर गरेको जानकारहरु बताउँछन् ।
हाल म्यानपावर व्यवसायीहरु रमजानपछि के हुन्छ भनेर पर्खिरहेका छन् । रमजानपछि पनि यही यही अवस्था रहने हो कि भन्नृे चिन्ता उनीहरुको छ ।












