२ असार, २०७४ (काठमाडौं) । दोस्रो चरणमा गर्ने तय भएको २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन सार्ने सरकारको निर्णयपछि आन्दोलनरत राष्ट्रिय जनता पार्टी अनिर्णित बनेको छ ।
राजपासँग नै विहीबार सिँहदरबारमा छलफल भइ सहमति भएअनुसार सरकारले प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय गरेको छ ।
सरकारको निर्णयपछि बसेको राजपाको बैठकले कुनै निर्णय निकाल्न सकेन । राजपाका अध्यक्ष मण्डलका तीन सदस्य राजधानी बाहिर भएकाले निर्णय हुन नसकेको सो पार्टीले जनाएको छ ।
सरकारको निर्णयपछि संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरसहित राजपा अध्यक्ष मण्डलका तीन सदस्यसहित तत्कालित तमलोपाको विजुली बजारस्थित कार्यालयमा बैठक बसेको थियो । पार्टीमा कुरा नमिलेपछि राजधानी बाहिर रहेका तीन सदस्यलाई काठमाडौं बोलाइएको छ ।
राजपा नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादव आन्दोलनको नेतृत्व गर्न मधेस गएका छन् । तीनै जना नेतालाई काठमाडौ बोलाएर शुक्रबार नै राजपाले औपचारिक निर्णय गर्ने भएको छ ।
राजपाले संविधान संशोधन हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या थप गरिनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई उपचार र क्षतिपूर्ति तथा मृतकलाई सहिद घोषणा गरिनुपर्ने, थुनामा रहेकालाई रिहाई गरिनुपर्नेलगायतका माग राखेको छ । प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणका गर्ने सरकारको निर्णय सकारात्मक भएको प्रतिक्रिया राजपा नेताहरुले दिएका छन् ।












