१ असार, २०७४ (काठमाडौं) । आगामी असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको निर्वाचन मध्ये प्रदेश नम्बर २ र ५ मा निर्वाचन सारेर तेस्रो चरणमा गर्न सत्तारुढ दलले राखेको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ।
प्रधानमन्त्री कार्यालय सिहंदरवारमा निर्वाचन आयोगका पदाधिकारीसँगको परामर्शमा सरकारको प्रस्ताव आयोगले अस्वीकार गरेको हो।
केहीबेर अघि सिहंदलबारमा बसेको बैठकमा राष्ट्रिय जनता पार्टी असार १४ गतेको निर्वाचन बोथोल्नेगरी आन्दोलनमा गएपछि सरकारले दुई नम्बर प्रदेशसहित तराईका केही जिल्लामा चुनाव सार्ने प्रस्ताव निर्वाचन आयोगसमक्ष गरेको थियो ।

निर्वाचन आयोगले असार १४ गतेको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै अब निर्वाचन सार्दा थप अन्यौलता बढ्ने भएकाले सरकारको प्रस्ताव अस्वीकार गरेको बताएको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालले आयोग चुनाव सार्ने पक्षमा नरहेको बताए। ‘हामी चुनाव सार्ने पक्षमा छैनौं, सरकारसँग पनि आग्रह गरिसकेका छौं, तोकिएको समयमै चुनाव हुनुपर्छ’ उनले भने।
असार १४ गते सहज ढंगले चुनाव हुने आयोगले विश्वास लिएको छ। ‘कतै समस्या आए सरकारले सुरक्षा व्यवस्था गर्नेछ’ उनले भने।
निर्वाचन आयोगका पदाधिकारीहरुले अब चुनाव सार्न नसकिने बताएको बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले बताए। ‘ आयोगका साथीहरूले प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुन्छ भन्नुभएको छ,’ पौडेलले भने।
दलका नेताहरुले मिति नसरे दुर्घटना फस्ने भन्दै यो दुर्घटनाबाट बच्ने उपायबारे सोच्न आयोगका पदाधिकारहरूलाई भनेको पौडेलले बताए।
यता प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने बैठकमा आफूहरुले चुनावी तयारीबारे जानकारी गराएको दाबी गरे। ‘चुनाव जहिले पनि चुनौतीपूर्ण हुन्छ। गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाउँछु भनेकाले कुनै समस्या नहोला,’ उनले भने।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका प्रमुख नेताहरू सहभागी थिए भने निर्वाचन आयोगका तर्फबाट प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्तहरू छलफलमा सहभागी थिए।
राजपाले कम्तिमा पनि मधेसमा स्थानीय तहको संख्या थप गरेपछि मात्र आफूहरू चुनावमा भाग लिने अडान लिएको छ। संख्या थप नगरी चुनावमा गरिए त्यसलाई विथोल्ने भन्दै राजपाले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ।
पहिलो चरणको बन्द अन्तर्गत दुई नम्बर प्रदेशका जिल्लाहरू पछिल्लो तीन दिनदेखि ठप्प छन्।
सत्तारूढ दल कांग्रेस तथा माओवादी केन्द्र दुई नम्बर प्रदेशको चुनाव केही दिन सारेर राजपालाई सहमतिमा ल्याउने वातावरण बन्यो भने निर्वाचन सार्ने पक्षमा देखिएका थिए। प्रदेश नम्बर दुईबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद तथा नेताहरूले २ नम्बर प्रदेशमा चुनाव सारेर भए पनि राजपालाई सहमतिमा ल्याउनुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने चुनाव सार्न नहुने अडान राख्दै आएको छ। बुधबार साँझ सत्तारूढ दल, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राजपाका नेताहरूको बैठक सिंहदरबारमा बसेको थियो।
निर्वाचन आयोगसँगको छलफलपछि तीन प्रमुख दल र राजपाका नेताहरूको बैठक आज फेरि बस्ने कार्यक्रम रहेको छ।











