१ असार, २०७४ (काठमाडौं) । माग सम्बोधन नगरिएको भन्दै चुनाव बहिस्कार गरेर आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी राजपासँग आज पनि सत्ता गठबन्धन र प्रतिपक्ष दलले सहमतिको प्रयास गर्ने भएका छन् ।
‘
हिजो बसेको बैठकबाट सहमती जुट्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । आज विहान १० बस्ने बैठकमा राजपाले राखेका मागहरु सम्बोधन गर्न सकिने वा नसकिने र चुनाव सार्ने वा नसार्ने विषयमा दलहरुबीच छलफल हुने जनाइएको छ ।
हिजो बसेको बैठकमा राजपाका नेताहरुले बारम्बार सारेको चुनाव अब फेरि सार्दा जहाज नडुब्ने धारणा राखेका थिए । चुनावको मिति सार्नुपर्ने र पूर्वसहमति सम्बोधन गर्नुपर्ने माग उनीहरुको थियो । सो विषयमा दलहरुबीच सहमती जुट्न नसकेको राजपा नेता शरतसिंह भण्डारीले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दलले चुनाव सार्ने विषयमा कडा प्रतिवाद गरेको छ । त्यस्तै, एमालले चुनावपछि मात्रै संविधान संशोधन गर्नुपर्ने अडान लिइरहेको छ । सत्तारुढ दल कांग्रेस र माओवादी भने राजपाको मागलाई सम्बोधन गर्नुपर्ने पक्षमा छन् ।
आज बस्ने बैठकअघि सत्तारुढ दलले चुनाव सार्ने, मनोनयन दर्ताको मितिमा पनि हेरफेर गर्ने विषयमा निर्वाचन आयोगसँग छलफल गर्दैछ । राजपा सहमतिमा आउने अवस्था नदेखिए पनि प्रधानमन्त्री शेरबहादुर देउवा भने प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने मनस्थितिमा रहेका छन् ।












