१ असार, २०७४ (काठमाडौं) । असार १४ गतेका लागि निर्धारित स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि भोलि शुक्रबार उम्मेदवारी दर्ताको मिति तोकिएको छ । गराउने कार्यक्रम छ। निर्वाचन आयोगले निर्धारण गरेको चुनावी कार्यतालिकाअनुसार दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर १, २, ५ र ७ सबै स्थानीय तहमा शुक्रबारका लागि उम्मेदवार दर्ता गराउने मिति तोकिएको हो । उम्मेदवारी दर्ता गराउने मितिको अघिल्लो दिनसम्म पनि सरकार भने निर्वाचन सार्ने कसरतमै लागेको छ । मधेसको एक दल राजपा निर्वाचनमा सहभागी नहुनेभएपछि सरकार अझै पनि उसलाई मनाउनका लागि निर्वाचन पर धकेल्ने करतमै लागेको हो । निर्वाचन आयोगले भने निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले अब मिति सारिए उचित नहुने भन्दै आयोगले सरकारलाई सचेत समेत गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीका उच्च अधिकारीहरुलाई निर्देशन दिएको थियो।
आयोगले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै प्रदेश नम्बर २ मा भएका राजपाका गतिविधिप्रति सरकार र सुरक्षा निकायलाई सचेत गराएको छ।
सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ।
प्रदेश नम्बर २ का लागि भने सत्ता साझेदार दलले उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।












