३१ जेठ, २०७४ (इटहरी) । मधेसकेन्द्रित दल राजपाले दोस्रोचरण अन्तर्गत असार १४ गते हुने निर्वाचन विफल पार्ने आन्दोलन सुरु गरे पनि तराईका जिल्लाहरुमा निर्वाचन गतिविभिले तीव्रता लिएको छ ।
राजनीतिक दलहरुले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदाधिकारी दलित एवम् महिलाको उम्मेदवारी चयन गरेपछि निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको हो ।
तराईकै एक जिल्ला सुनसरीमा पनि चुनावी चहलपहल तीव्र बनेको छ । चार लाख २१ हजार १५९ जना मतदाता रहेको सुनसरी जिल्लामा दुई उपमहानगर चार नगरपालिका र छ वटा गाउँपालिका छन् । यस जिल्लमा निर्वाचनमा यस जिल्लाबाट ६४४ जनप्रतिनिधिको चयन हुने छ ।
हाल प्रचारप्रसारमा नेपाली काँग्रेस, राप्रपा, नेकपा एमालेर नेकपा, माओवादी केन्द्रले आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् । कतिपय दलका उम्मेदवार अझै चयन हुन सकेका छैनन् ।
राजनीतिक विषयलाई थाँती राखेर उम्मेदवार भने हरेक मतदाताको घरदैलोमा पुगेर आफूलाई जिताउन मत माग्ने क्रमसंगै निर्वाचन आचारसंहिता उलङ्घन गर्ने क्रम पनि बढेको छ ।
सबै राजनीतिक दलले आ–आफ्नो वर्चश्व देखाउनका लागि शहर बजारमा आफूखुशी तुल, ब्यानर र झन्डा झुन्ड्याउने, टिसर्ट तथा टोपीको प्रयोग गर्ने कामले प्रशस्त भएको पाइएको छ ।
उता राजपाले जनभावना बिपरित आन्दोलनको घोषणा गरेसँगै बन्द हडताललगायतका कार्यक्रम अघि बढाएपनि त्यसको प्रवाह नगरी ठूला राजनीतिक दलका नेता तथा समर्थक हुल बाँधेर प्रचारप्रसारमा होमिएका छन् ।
दलहरुको चुनावी अभियानले पाएको तीव्रताका कारण सर्वसाधारणको ध्यान पनि चुनावमा केन्द्रित बनेको पाइएको छ ।












