३१ जेठ, २०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा सहभागी गराउनका लागि असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको चुनावको मिति सार्नुपर्ने पक्षमा सत्तारुढ दल कांग्रेस र माओवादी देखिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रमुख चार दलको बैठकमा कांग्रेस र माओवादीले यस्तो प्रस्ताव गरेका हुन् । तर नेकपा एमालेले भने यसमा सहमति जनाएको छैन ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए दुई र पाँच नम्बर प्रदेशको निर्वाचन सार्नुपर्ने प्रस्ताव राखेका थिए।
राजपाले दोस्रो चरणको चुनाव बिथोल्न मंगलबारदेखि मधेस बन्दसहितको आन्दोलन सुरु गरेको छ ।
बैठकपछि एमाले अध्यक्ष केपी ओलीले संचारकर्मीहरुसँग कुरा गर्दै चुनाव सार्ने कुरा एमालेलाई स्वीकार्य नहुने बताए ।
सत्ता साझेदार माओवादी केन्द्रका नेता वर्षमान पुनले राजपा चुनावमा आएमा असार १४ को मिति सार्ने प्रस्तावबारे सोच्न सकिने बताए । यसै विषयमा बुधबार राजपासँग वार्ता गर्ने जानकारी नेता पुनले दिए।












