३० जेठ, २०७४ (काठमाडौं) । सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगिताका लागि नेपाल यमनको बराबरीमा सकिएको छ । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा नेपाल र यमनले बराबरी अंक बाडेका हुन् । बराबरीसँग नेपालले यो प्रतियोगितामा पहिलो अंक प्राप्त गरेको हो ।
पहिलो खेल फिलिपिन्ससँग पराजित नेपालका लागि यो खेल महत्वपूर्ण भए पनि जित हासिल गर्न सकेन। गोलरहित बराबरीमा खेल टुंगिएकाले दुवै टिमले एक-एक अंक पाएका हुन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आज भएको खेलमा बराबरी भए पनि यसअघि फिलिपिन्ससँग नेपालले ४-१ को गोल अन्तरमा पराजय भोगिसकेको छ। यमनले भने यसअघि एक खेल जितिसकेको छ।
प्रतियोगिताको इन्जुरी टाइममा मैदान छिरेर अनिल गुरुङले ५० औं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए। नवयुग श्रेष्ठको ठाउँमा रेकर्डका लागि उनलाई खेलमा सहभागी गराइएको थियो ।
नेपालले फिलिपिन्ससँग अर्को खेल आगामी नोभेम्बर १४ तारिखमा घरेलु मैदानमा खेल्नेछ।
समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सिधै एसिया कपका लागि छनोट हुनेछन्।
नेपालले अर्को खेल तीन महिनापछि ताजिकिस्तानसँग खेल्दैछ । नेपालले अब छनोटमा ४ खेल खेल्न बाँकी छ ।
छनोटमा नेपाल रहेको समूहमा फिलिपिन्स, यमन र ताजिकिस्तान छन् । यी टोलीबीच होम एण्ड अबे आधारमा २-२ खेल हुनेछन् ।
होम एन्ड अवेको आधारमा अघिल्लो वर्ष भएका दुई खेलमा भारतसँग २–० ले हारेपछि नेपाल एसियन कप २०१९रविश्वकप २०१८ को प्ले–अफबाटै बाहिरिएको थियो । तर, कार्तिकमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको सफलतासँगै नेपालले फेरि एसियन कपको छनोट खेल्ने अवसर पाएको हो ।












