२९ जेठ, २०७४ (काठमाडौं) । उर्जा मन्त्रालय सम्हालेर लोड सेडिङको अन्त्य गरेका माओवादी नेता जनार्द्धन शर्माले गृहमन्त्रालय सम्हालेपछि सर्वसाधारणलाई लगाइएको जरिवाना हटाएका छन् । काठमाडौंमा जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग ट्राफिक प्रहरीले २०० रुपैयाँ जरिवाना लिने गरेकोमा मन्त्री शर्माको निर्देशनपछि हटाइएको हो ।
गृहमन्त्री जनार्दन शर्माले मंगलबार प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेका थिए । छलफलपछि गृहमन्त्री शर्माको जरिवाना हटाएर सचेतनाको कार्यक्रम गर्न निर्देशन दिएका थिए ।
अब जथाभावी सडक पार गर्नेलाई जरिवाना नगर्ने तर, क्लास लिनु पर्नेभएको छ । जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिएर ट्राफिक कार्यालय पुर्याइने छ । त्यहाँ ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई ट्राफिक नियमबारे प्रशिक्षण दिने छ। यो व्यवस्थाले गाउँबाट आएका सिधासादा मान्छेलाई राहत भएको छ ।
जेठ १६ गतेबाट सुरु भएको पैदलयात्रीमाथिको यो कारबाहीमा झण्डै २० हजार पैदलयात्रुले जरिवाना तिरी सकेका छन् ।
राजधानीका सडकमा आवश्यक स्थानमा जेब्राक्रसिङ नै नभएको भनी यो कारवाहीको आलोचना भएको थियो । संसदको विकास समितिले त जेब्रा क्रसिङको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको थियो ।












