२९ जेठ, २०७४ (काठमाडौं) । अर्बौँ घोटाला गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्वविभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेपछि तत्कालीन कर फछर्यौट आयोगका अध्यक्ष बेपत्ता भएका छन् । अख्तियारले हिरासतमा लिएका शर्माबाट पोल खुल्न सक्ने डरमा कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत बेपत्ता भएका हुन् । महत पक्राउ पर्न सक्ने डरले विदेश भागेको बुझिएको छ ।
हिरासतमा रहेका शर्माको प्रारम्भिक वयानमा कम्तिमा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना भएको देखिएको छ । शर्माले उपलब्ध गराएका ८७ वटा फाइलबाट मात्रै यति धेरै घोटाला भएको देखिएको हो । आयोगले अहिलेसम्म कर फछर्यौट आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा मात्रै अध्ययन गर्दा यस्तो भेटिएको हो । अनुसन्धानका क्रममा अन्य धेरै फाइल अध्ययन गर्न बाँकी रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड बढि कर फछर्यौटको निर्णय गर्दा राज्यकोषमा जानुपर्ने २१ अर्ब रुपैयाँ छुट दिएको देखिएको छ । यो राज्य कोषमा देखिनु पर्ने तर, नदेखिएको रकम हो । र, यसलाई नै शंकाको घेरामा राखेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।
शर्माले गरेको घोटालाको प्रकृति हालसम्मकै नौलो प्रकारको रहेको अख्तियारका एक उच्च अधिकारीले बताएका छन् । धेरै प्राविधिक जटिलताभित्र भ्रष्ट्राचार भएको देखिएको उनले बताए ।
यसैबीच अख्तियारले कर फछर्यौट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकाललाई पनि आयोगमा हाजिर हुन पत्र काटेको छ । उनीहरुलाई तीन दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भन्दै आइतबार पत्र काटिएको हो । तर महतका परिवारले उनी विरामी भएर विदेशमा रहेको जनाएका छन् ।
हिरासतमा रहेका शर्मा भने विरामी भएको नाटक गरिरहेका छन् । उनले बारम्बार अस्पताल जान भन्ने गरेको र दिनमा तीनपटकसम्म अस्पताल पुर्याइएको अख्तियारका एक अधिकारीले जानकारी दिएका छन् ।
वीर अस्पतालमा भएको स्वास्थ्य परिक्षणमा उनको स्वास्थ्य स्थिती सामान्य देखिएको थियो ।
एउटा व्यापारिक फर्मले ४ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीले जम्मा ४ करोड रुपैयाँ मात्रै असुलेर बाँकी रकम मिनाहा गरेको अनुसन्धानका क्रममा फेला परेको छ ।












