२९ जेठ, काठमाडौं । नेपालमा राजदूत पदमा रहँदा मधेसी दललाई काँधमा बोकेका एक भारतीय कुटनीतिज्ञले चुनावमा नजाने मधेसी दल समाप्त हुने चेतावनी दिएका छन् । नेपालका लागि पूर्वराजदूत राकेश सूदले एक भारतीय पत्रिकामा लेख लेख्दै चुनावमा नजाने नेपालका मधेसी दल समाप्त हुने चेतावनी दिएका हुन् ।
मधेसी दल राजपाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भोलिपल्ट सुदले स्थानीय चुनावमा भाग नलिने मधेसी दललाई घाटमा मात्र होइन समाप्त हुने निष्कर्ष निकालेका हुन् ।
भारतीय पत्रिका द हिन्दूमा सोमबार प्रकाशित सूदको लेखमा स्थानीय चुनावमा नजाने दलको पृष्ठभूमि बलियो नहुने र प्रदेश सभा तथा केन्द्रको चुनावमा उनीहरुको विजोग हुने निष्कर्ष छ ।

सुदले कुनै दलको नाम भने लेखेका नलेखी राजपातर्फ लक्षित गर्दै भनेका छन् उनीहरु आगामी पाँच वर्षका लागि स्थानीय राजनीतिबाट बाहिर रहे भने कार्यकर्तालाई थामिराख्न र आगामी प्रान्तीय र केन्द्रीय निर्वाचनमा राम्रो नजिता ल्याउन असमर्थ हुनेछन् ।’
सूदले यो कुरा भन्नुपहिले नै राजपाका पक्षमा मधेसमा कार्यकर्ता नभएको देखिएको छ । चुनावी सभा लिएर मधेस जाँदा कार्यकर्ता नभएपछि उनीहरु राजधानी फर्केर चुनाव भाँड्ने योजनामा लागेका थिए ।
नेपालमा छँदा माओवादीविरोधी कार्य गरेका सूदले यतिवेला भने माओवादीको प्रशंसा गरेका छन् । केपी ओलीले विगारेको नेपाल भारतसम्बन्ध प्रचण्डले सुधारेको उल्लेख गरेका छन् । माओवादीको कडा आलोचक भएका कारण र नेपालीप्रति हेपाहा प्रवृत्ति देखाएको भन्दै सूदलाई माओवादी नेता गोपाल किराँतीले जुत्ताले हानेका थिए ।
नेपाल मामिला जानकार मात्रै नभएर नेपाली राजनीतिमा भारतको प्रभाव पार्न सक्ने सूदको यो पछिल्लो टिप्पणीले सरकारलाई सजिलो भएको आम मानिसले बुझेका छन् । अब भारतले राजपालाई बोक्ने अवस्था नरहेको र निर्वाचन भाँड्न उनीहरुलाई सहयोग नगर्ने भारतको देखिएको स्पष्ट भएको छ ।











