२७ जेठ, २०७४ (काठमाडौं) । शुक्रबार सोलुखुम्बु पुगेर २ सय बढी कांग्रेस कार्यकर्तालाई आफ्नो दलमा प्रवेश गराएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार आफ्नै निवास लाजिम्पाटमा विभिन्न दलका कार्यकर्तालाई दलमा भित्र्याएका छन् प्रचण्डले शनिबार एमाले, राप्रपा, वैद्य माओवादी र विप्लव माओवादीका कार्यकर्तालाई आफ्नो दलमा भित्र्याएका हुन् ।
पार्टी प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताए ।
प्रचण्डले आफ्नै दलबाट छुट्टिएर गएका मोहन वैद्य र विप्लवलाई एकतामा आउन आग्रह गर्दै अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी नभएको बताए । मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहेका सबै कमरेडलाइ पार्टी एकतामा आउन उनले आग्रह गरे ।
मोहन वैद्य र विप्लवलाई एकतामा आउन आग्रह गरेका प्रचण्डले केपी ओलीप्रति भने आक्रोस व्यक्त गरेका छन् । एमाले अवसरवादी पार्टी भएकोले उसबाट परिवर्तनका अपेक्षा गर्न नसकिने प्रचण्डको भनाइ थियो ।
प्रचण्डले शनिबार एमाले कार्यकर्तालाई माओवादीमा भित्र्याइरहँदा उनैका कार्यकर्ता भने ओलीले एमाले भित्र्याउँदै थिए । माओवादी केन्द्रमा रहेका नाट्यकर्मी रमेश रञ्जन झा शनिबार नै एमालेमा प्रवेश गरेका छन् ।












