२६ जेठ, २०७४ (काठमाडौं) । संविधान संशोधनका लागि सत्तारुढ दलहरुले एमाले सांसद चोर्न सक्ने अनुमानको विपरीत उल्टै एमालेले सत्तारुढ दलका सांसदलाई जोगाउन चेतावनी दिएको छ ।
एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तारुढ दललाई शुक्रबार यस्तो चेतावनी दिएका हुन् । व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो थैली दह्रो गरी राख्न आग्रह गरे ।
संविधान संशोधनलगायतका विविध विषयमा एमालेले असहयोग गरेको भन्ने सत्तारुढ दलको भनाइप्रति लक्षित गर्दै नेम्वाङले अरुलाई चोर दोष नलगाउन आग्रह गरे । आफ्नो थैली बलियो गरी राख्न र अरुलाई चोरको दोष नलगाउन भनी नेता नेम्वाङले सत्तारुढ दल कांग्रेस र माओवादीकै सांसदलाई आफ्नो दलले चोर्न सक्ने चेतावनी दिएका हुन् । तर उनले केका लागि सत्तारुढ दलका सांसद चोर्ने भनेका हुन् स्पष्ट पारेनन् ।
नेता नेम्वाङले एमालेलाई कुनामा पर्याउन खोजिएको गुनासो समेत गरे । प्रतिपक्षीलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कुनातिर फालेको र केपी ओलीको सरकारले भने सम्मान गरेको दावी गरे ।
संविधान संशोधन गर्दा प्रतिपक्षीसँग छलफल नगरेको गुनासो उनको थियो ।
मधेसी दलले मधेसमा एमालेलाई पस्न नदिने धम्की दिएको उल्लेख गर्दै यस्तो निरंकुशताविरुद्ध प्रधानमन्त्रीले बोल्नुपर्ने भनाइ नेम्वाङको थियो ।












