२६ जेठ, काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफूभन्दा सानो दल फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्री पद दिएको तर आफूलाई वास्ता नगरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले गुनासो गरेको छ । देउवालाई प्रधानमन्त्री बन्न समर्थन गरे पनि मन्त्रिमण्डलमा सम्मानजनक स्थान नदिइएको भन्दै यसतर्फ ध्यान दिन राप्रपाले आग्रह गरेको छ ।
नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर काँग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ । राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलका सदस्य गिरीले सरकारमा सहभागिताका लागि एक पटक काँग्रेस तथा नेकपा माओवादी केन्द्रसँग संयुक्त बैठक बसे पनि मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गो लाग्न नसकेको बताए।
पार्टीका प्रवक्ता भुवन पाठकले संसद्मा चौथो स्थानमा रहेको पार्टीलाई सरकारमा सम्मानजनक स्थान नदिइए सहभागिताका लागि मात्र सरकारमा नजाने बताए । राप्रपामा ३७ सांसद् छन् ।
केपी ओलीदेखि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री पद लिएर रमाएका राप्रपा अध्यक्ष कमल थापा फेरि सरकारमा जान हतारिएका हुन् । तर, प्रचण्ड नेतृत्वको सरकारबाट निहुँ खोज्दै बाहिरएर एमालेसँग निर्वाचनमा गठबन्धन गरेका थिए । एकातिर सरकार पनि ताक्ने र अर्कोतिर विपक्षी एमालेसँग गठबन्धन गर्ने कमल थापाको दोहोरो चरित्रलाई त्यहीअनुरुप व्यवहार गरी केही समय अल्झाउने नीति कांग्रेस र माओवादीले थापालाई लिएका छन् ।












