२४ जेठ, फलेबास-पर्वत । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य छन् ।
रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य भएका छन् । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । उनीसँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए ।
खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताए। खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।
उपचारका लागि उनलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उहाँको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्केका थिए । उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उनले काठमाडौँमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गरेका थिए । काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उनले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाए। उनकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो ।
अहिले कृत्रिम गोडाको सहायताले उहाँ हिँड्डुल गर्नुहुन्छ । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उनको छैन । उनले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि आफू सधैँ पीडित नै बनिरहेको दुखेसो गरे।
“जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्”, उनले गहभरि आँसु पार्दै भने, “अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।”
खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गरेका थिए ।
आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिग्रँदै गएको छ । उनले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गरे ।
लक्ष्मीप्रसाद सापकोटा, रासस











