केशव अधिकारी
२३ जेठ, धादिङ । पृथ्वी राजमार्ग धादिङमा यात्रुबसले ठक्कर दिएर दुई जनाको मृत्यु भएपछि धादिङको सिम्ले तनावग्रस्त बनेको छ । तनावका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
बुटवलबाट काठमाण्डौं आउँदै गरेको लु १ ज २६७४ नम्बरको माइक्रो बसले पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्लेमा बटुवालाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । अत्याधिक गतिमा रहेको माइक्रोले बाटोमा हिँडिरहेकी बन्दना परियारलाई ठक्कर दिँदा उनको घटनास्थलमानै ज्यान गएको थियो । यसैगरी घाइते भएकी गंगा थापाको पनि उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएकी स्थानीय शुष्मा थापालाई उपचारको लागि राजधानीको नर्भिक अस्पताल लगिएको छ ।
बसको ठक्करपछि उत्तेजित भएका स्थानीयमानिसको समुहले चालकसहित माइक्रोलाई आगजनी गर्ने प्रयास गरेका थिए । तर, प्रहरीले चालकलाई निकालेको थियो । चालकलाई प्रहरीले बसबाट निकालेपछि आक्रोसित भिडले माइक्रोमा आगो लगाएका छन् । आगजनीका कारण बस पुरै नष्ट भएको छ ।
मंगलबार दिउँसो करिब २.४५ वजे भएको सो दुर्घटनापश्चात आक्रोशित स्थानीयले अहिले राजमार्ग अवरुद्ध गरेका छन् । काठमाडौंबाट छुटेका र राजधानी भित्रिने कैयौं गाडीका यात्रु पृथ्वीराजमार्गको सिम्ले आसपासका क्षेत्रमा अलपत्र परेका छन् । माईक्रोका चालक भुपराज डुम्रे प्रहरीको नियन्त्रणमा छन ।

तस्बिरहरु : केशव अधिकारी














