२३ जेठ, काठमाडौं । १४ वर्षअगाडि शेरबहादुर देउवा प्रधानमन्त्री पदमा आसिन हुँदा जसको टाउकोको मूल्य तोकेका थिए आज तिनै टाउकोको मूल्य तोकिएका व्यक्तिको समर्थनमा देउवा प्रधानमन्त्री बन्ने भएका छन् । देउवा प्रधानमन्त्री हुँदा तोकिएको प्रचण्डको टाउकाको मूल्य देउवाकै लागि अमूल्य सावित भएको छ । अर्थात् संकटकाल लगाएर माओवादी सुप्रिमो प्रचण्ड लगायतका व्यक्तिलाई पक्राउ गर्ने वा हत्या गर्नेलाई देउवाले पुरस्कार राशिको घोषणा गरेका थिए । तर, तिनै प्रचण्ड र प्रचण्डको दलका व्यक्तिहरुले आज देउवालाई संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री पदको पुरस्कार दिँदै छन् । त्यसो त जनयुद्धमा रहेको माओवादीले पनि देउवालाई एम्बुसमा पारेर उनको हत्या गर्ने प्रयास नगरेको होइन । तर परिस्थिति फेरिएको छ । उतिवेलाका घोर दुश्मनहरु अहिले एउटै ठाउँमा उभिएका छन् र सत्ता संचालनका लागि एकअर्काका परिपूरक बनेका छन् । सायद त्यसैले भन्ने गरिएको होला राजनीतिलाई सम्भावनाको खेल । सम्भावनाको खेलबाटै प्रचण्ड देउवाको समर्थनमा प्रधानमन्त्री बनिसके ।
माओवादी केन्द्रको समर्थनमा व्यवस्थापिका संसदमार्फत आज देउवा प्रधानमन्त्री चयन हुने भएका हुन्। प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाहेक कसैको पनि उम्मेदवार नपरेकाले उनी आज विनाप्रतिस्पर्धा प्रधानमन्त्री बन्ने भएका हुन् ।
संसदको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।
पहिलो बैठकलाई प्रमुख तीन दलका शीर्ष तीन नेताले सम्बोधन गर्ने कार्यसूची बनाइएको छ ।
त्यस्तै आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।
प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने सम्भावना छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने भएको छ ।












