१७ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुरमा मतपत्र च्यात्नेलाई निर्वाचन आयोगको प्रतिवेदनले ठहर गरेको व्यक्तिलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मतगणना जारी रहँदा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको भन्ने आरोप आइरहेका वेला माओवादी अध्यक्ष प्रचण्डले नै दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदन अनुसार आफ्नै दोषी देखिएमा उनीहरुलाई समेत कारवाही गर्ने प्रचण्डले बताएका हुन् । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि उन्मुक्ति नपाउने धारणा व्यक्त गरे ।
भरतपुरमा एमाले र माओवादीले एकअर्कालाई मतपत्र च्यातेको आरोप लगाउँदै आएका छन् । प्रहरीले मतपत्र च्यातेको भन्दै माओवादीका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । सो घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन तयार पार्न निर्वाचन आयोगले अनुगममन टोली गठन गरेको छ । अनुगमन टोली बुधबार साँझसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
आफ्नी छोरीलाई भरतपुरमा मेयर बनाउन प्रचण्डले हरतरहका कसरत गरेको आलोचना खेपिरहेका प्रचण्डको यो प्रतिबद्धताले मूर्त रुप लेला ?












