१४ जेठ, काठमाडौं। वर्तमान सरकारले गरेका कार्यप्रति प्रमुख प्रतिपक्षी दल एमालेले नै प्रशंसा गरेको छ । व्यवस्थापिका संसदको आजको बैठकमा कपा एमालेका रेवतीरमण भण्डारीले नीति तथा कार्यक्रमले चालु आवका कार्यक्रमलाई नै निरन्तरता दिएको उल्लेख गर्दै वर्तमान अवस्थामा मुलुकमा सबैलाई एक ढिक्का बनाएको र कोही पनि पक्ष विपक्ष नभएको बताए ।
सरकारले विद्युतभार कटौती अन्त्य र आर्थिक वृद्धिमा प्राप्त गरेको सफलता सकारात्मक भएको उल्लेख गर्दै उहाँले नीति तथा कार्यक्रममा जनतामा विश्वास जगाउने कुरा आएको बताए ।

बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले नीति तथा कार्यक्रम वर्तमान राजनीतिक समस्या समाधानमुखी भएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अवस्थामा देखाएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै सांसद गिरीले संविधान संशोधनका लागि प्रतिपक्षीलाई समेत विश्वासमा लिएर जानुपर्ने विचार व्यक्त गरे ।
प्रजातन्त्रमा सबैलाई समेट्न सके मात्र व्यवस्था दिगो हुने उल्लेख गर्दै उहाँले मधेस समस्या समाधानका लागि नीति कार्यक्रममा संविधानको दायरा झन् फराकिलो गर्ने कुरा सकारात्मक छ भने।
नेकपा माओवादी केन्द्रकी रेखा शर्माले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारको अधिकार गाउँनगरसम्म पु¥याउने कार्य प्रशंसायोग्य भएको उल्लेख गर्दै आर्थिक वृद्धिदर र उज्यालो नेपाल स्वागतयोग्य रहेको बताइन्।
राप्रपाका परशुराम तामाङले नीति कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ समेट्नु स्वागतयोग्य हो भन्दै बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास व्यक्त गरे।
सङ्घीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपालीले कृषिको आधुनिकीकरण तथा सबै प्रदेशमा मुटु अस्पताल बनाउने लगायत जनहितकारी योजना नीति कार्यक्रममा समेटिनुपर्ने बताए ।
यसैबीच व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएको छ ।











