११ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वुधबार पदबाट राजिनामा दिएपछि भण्डारीले विहीबार यस्तो आह्वान गरेकी हुन् ।
नेपालको संविधानको धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले आह्वान गरेकी हुन् ।
सातदिन भित्र सहमतीय आधारमा प्रधानमन्त्री चयन हुन नसके मात्रै बहुमती आधारमा प्रधानमन्त्री चयन हुने संवैधानिक व्यवस्था रहेको छ ।
तर एमाले तथा मधेसकेन्द्रित दलहरु सरकारमा सहभागी हुने अवस्था नदेखिएका कारण तोकिएको सात दिनभित्र प्रधानमन्त्री चयन हुने सम्भावना देखिएको छैन । सात दिन विताएपछि मात्रै बहुमतीय प्रक्रियाबाट कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्र लगायतका दलको समर्थनमा प्रधानमन्त्री बन्ने सम्भावना छ ।












