३० वैशाख, जोमसोम । वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थकालीले जोमसोम पुगेर मतदातालाई पैसा बाँडेको आरोप लागेपछि उनी प्रहरी नियन्त्रण्मा पुगेका हुन् ।
थकालीलाई प्रहरीले कारवाहीका लागि नियन्त्रणमा लिएका नभई सुरक्षाका लागि लिएको जनाइएको छ । थकालीविरुद्ध जोमसोममा प्रदर्शन भएपछि शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त छ । मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर एक स्थानीयको घरमा राखेको छ ।
प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् । बिहानैदेखि जोमसोम बजारमा कांग्रेसबाहेकका दलहरु र स्वतन्त्रका उम्मेदवार सर्मथित कार्यकर्ताहरुको प्रदर्शन चर्किएको छ । प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै अलपत्र परेका छन्।
प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् । सदरमुकामभरि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई व्यापक रुपमा परिचालन गरेको छ । कांग्रेसबाहेकका अन्य दलका कार्यकर्ता तथा सर्वसाधारणहरु मन्त्री थकालीको विरुद्धमा प्रदर्शनमा उत्रिएका छन् ।












