१८ बैशाख, काठमाडौं । राजतन्त्र र हिन्दू राज्यको मुद्दा बोकेर गणतान्तिक र धर्म निरपेक्षतासहितको संविधान कार्यान्वयनका लागि दुईपल्टसम्म उपप्रधानमन्त्री बनेका कमल थापाले कांग्रेस र माओवादी केन्द्रमाथि नैतिकताको प्रश्न उठाएका छन् । राजतन्त्रको मुद्दा उठाएर राजसंस्थालाई नै बारम्बार धोका दिएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको विरोध गरेको भोलिपल्ट सरकारमा उनलाई आकर्षक पद दिएका कांग्रेस र माओवादीलाई समेत गाली गरेका हुन् ।
थापाले आफ्नो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गरेको कार्य अनैतिक भएको भनी ब्रिफिङ गरेका थिए । उनले आफ्नो ब्रिफिङमा सरकारबाट बाहिरिने चेतावनी दिनुपर्ने कुरा समेत सुनाएका थिए । तर तत्कालै पद छाड्न नचाहेका थापाले कांग्रेस माओवादीले ल्याएको संविधान संशोधन प्रस्तावको समर्थन भने गर्ने गरी पार्टीबाट निर्णय गराएका छन्
थापाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यसको विपक्षमा उभिने र सरकार समेत निर्णय पार्टीमा गराएका छन् ।
सरकारमा सहभागी भएको आफूलाई थाहा नदिई महाअभियोग प्रस्ताव दर्ता गरिएकोप्रति थापाको दुखेसो थियो । सत्ता साझेदारलाई जानकारी नदिई प्रस्ताव ल्याइएकोले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको थापाले पत्रकारहरुलाई बताएका छन् ।
थापाको यो भनाइ महाअभियोग प्रस्ताव ठिक या बेठिक भन्ने भन्दा पनि आफूलाई जानकारी नदिइएकोप्रतिको गुनासो भएको बुझिन्थ्यो । किनभने संविधान संशोधन प्रस्तावमा राप्रपाका कुनै माग नसमेटिए पनि उसले साथ दिने भन्नुलाई रहस्यमय मानिएको छ । कांग्रेस माओवादीको गठबन्धन सरकार छाड्ने तर उनीहरुको मूल मुद्दा संविधान संशोधनलाई भने साथ दिने भन्नुले थापाको दोहोरो चरित्र फेरि सतहमा आएको छ ।
जब कि महाअभियोग प्रस्तावको विरोध गरिरहेको नेकपा एमालेले संविधान संशोधन प्रस्ताव देशको हितविपरीत र जनताको अधिकारविपरीत रहेको बताइरहेको छ ।
बारम्बार दोहोरो चरित्र देखाउँदै आएका कमल थापाले वर्तमानको संकटको घडीमा समेत फेरि दोहोरो चरित्र देखाएको उनकै दलका एक वरिष्ठ नेताले बताए । उनले भने राजावादीदेखि हिन्दूहरुको भोट बटुल्ने रणनीति जनताले थाहा पाइसके अब के हुँदैछ त्यो पनि छर्लङ्गै छ ।












