२६ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रामक बन्दै आएका एमाले अध्यक्ष केपी ओली एकाएक नरम देखिएका छन् । प्रचण्डप्रति नरम व्यवहार देखाउँदै ओली देउवाप्रति आक्रोशित बनेका छन् ।
सप्तरी घटनापछि पार्टी पंक्तिलाई मेची महाकाली अभियानबारे जानकारी दिन विहीबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले प्रधानमन्त्रीको आश नगर्न देउवालाई चेतावनी दिए ।
ओलीले भने ‘चुनाव गराउन नसक्ने हो भने प्रचण्डजीले राजीनामा दिए हुन्छ, अनि के जाति रे…अर्को जीले मुख नमिठ्याए हुन्छ ।’
ओलीले देउवालाई लक्षित गर्दै भने ‘उनको ध्यान ठेक्कापट्टा र कमाउने, नियुक्तिहरुमा छ ।’
त्यस्तै देउवाले फास्ट ट्रयाकमा कमाउने धन्दा गर्न खोज्नुका साथै अन्य दाऊ खेल्न खोजेको तर असफल भएको आरोप ओलीको थियो ।
सप्तरीमा एमालेका सिंगो नेतृत्वलाई सिध्याउने सुनियोजित षड्यन्त्र पुष्टि भइसकेको भन्दै सत्तारुढ गठबन्धनमा रहेको मोर्चाले एमाले नेतृत्वको हत्या गर्न खोज्नुले यसमा सिंगै सरकार मुछिएको उनले बताए । ओलीले मोर्चा सत्ताधारी दल भएकाले सप्तरी हत्याकाण्डमा सत्तापक्ष सम्पूर्ण रुपमा जिम्मेवार रहेको बताए ।
यद्यपि उनले गोली काण्डमा प्रधानमन्त्री प्रचण्डलाई आरोप लगाएनन् । बरु स्थानीय निर्वाचन गर्न नसके प्रचण्डले प्रधानमन्त्री पद छाड्नुपर्ने भन्दै नरम भाषा प्रयोग गरेका थिए ।
सप्तरी गोली काण्डमा गृहमन्त्री विमलेन्द्र निधि दोषी रहेको एमाले नेता लालबाबु पण्डित र सत्यनारायण मण्डलले दावी गरेका थिए ।












