२६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । मृतकको संख्या अझै बढी हुन सक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । घटनास्थलमा प्रहरीले मृतकका शवहरु संकलन भइरहेको छ ।
बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो । दुर्घटनास्थलबाट ११ जनाको शव निकालिएको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए ।
शाहका अनुसार बस दुर्घटनामा घाइते भएका ३९ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ । दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।
दुर्घटनास्थल सदरमुकाम भन्दा करिब चार किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाबाट बस पासागाड खोलामा खसेको छ ।
बसमा यात्रुहरु बढी भएकाले ओरालो घुम्तीमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।












