२६ फागुन, काठमाडौं । आफ्नै भूमिमा कल्भर्ट निर्माण गर्न लाग्दा नेपालीहरुमाथि भारतीय सुरक्षाकर्मीले गोली हानी एक नेपालीको हत्या गरेको छ । भारतको सम्पूर्णानगर थानाका प्रहरी निरीक्षकले चलाएको गोलीले स्थानीय गोविन्द गौतमको ज्यान गएको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ कारगिल डाँडा नजिक कल्र्भट निर्माण गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गोली वर्षाएको हो । नेपाल भारत सीमा दश गजाभन्दा धेरै दूरि कायम राखेर कल्भर्ट बनाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले त्यसमाथि हस्तक्षेप गरेको थियो । गुगल म्यापमा सो जमिन भारतको देखिएको भन्दै एसएसबीले हस्तक्षेप गरेको र सोही क्रममा नेपाली माथि गोली ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन् । सो क्षेत्रको २ सय नम्बर पिलर हराएकोले त्यो क्षेत्रमा लामो समयदेखि विवाद चल्दै आएको छ ।
बिहीबार बिहान १० बजेतिर नालामा निर्माण भएको कल्भर्टमा माटो भर्न लाग्दा भारतीय सिमातिर बढी माटो खनिएको आरोपमा सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयले कल्भर्ट भत्काउन खोजेपछि तनाव बढेको थियो ।
भारतीय एसएसबी र सिमा पारी बसहीका बासिन्दाले कल्भर्ट भत्काउन खोज्दा नेपाली पक्षले प्रतिकारमा नाराबाजी गरेका थियो । यसै क्रममा सीमा सुरक्षा बलले डेढ दर्जन राउण्ड बढी हवाइ फायर समेत गरेको थियो ।

दुवै तर्फबाट नाराबाजी भइरहँदा भारतीय सीमानामा रहेको सम्पूर्णानगर प्रहरी थानाका प्रहरी निरीक्षकले आफ्नै पेस्तोलबाट चलाएको गोली लागेर गौतमको मृत्यु भएको हो । घाइते गौतमलाई उपचारका लागि धनगढीको सिपी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
कञ्चनपुरमा नेपालीमाथि गोली चलाए पनि काठमाडौंस्थित भारतीय दूताबासले भने यसलाई अस्वीकार गरेको छ । दूतावासले ट्वीटरमार्फत भनेको छ ‘आनन्दबजारस्थित सीमाक्षेत्र नजिक एसएबीले गोली चलाएको घटनालाई कडारुपमा अस्वीकार गरिन्छ ।’












