८ फागुन, काठमाडौं । सरकारले आज घोषणा गर्ने भनी निर्धारण गरेको स्थानीय तहको चुनाव भालि सोमबार मात्र घोषणा गर्ने भएको छ । सत्ता साझेदार कांग्रेस, प्रमुख प्रतिपक्षी एमाले र मधेसी मार्चा तथा भारतीय पक्षसँगको अन्तिम छलफलका लागि सरकारले निर्वाचनको मिति घोषणा गर्ने दिन एक दिन पर सारेको हो । अघिल्लोपल्ट यस्तै कुरामा ध्यान नदिएर प्रधानसेनापति रुक्मांगत कटुवाललाई हठात हटाएका प्रचण्डले यसपल्ट भने बारम्बार सबै पक्षसँग चरणबद्ध रुपमा अन्तिम कुरा गर्न चाहेका हुन् ।
यसै सन्दर्भमा आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गरेको थियो। मोर्चाका माग पूरा हुने अवस्था नरहेको र परिस्थिति काबुबाहिर जाने भन्दै भोलि नै चुनावको मिति घोषणा गर्नेमा कांग्रेस एमाले सहमत भएका छन् । किनभने मधेसमा सिके राउतका कार्यकर्ताले वितण्डा मच्चाउन थालेका छन् । सिकेका कार्यकर्ताबीच मर्चवार रुपन्देहीमा शनिबार नै सशस्त्र प्रहरीसँग झडप भएको थियो । त्यही विषयलाई लिएर आइतबार मात्रै हतियार कब्जाको समाचार आयो । यो अवस्थाले मधेसी मोर्चा पनि सरकारले चुनाव घोषणा गरे चुनावमा जाने मनस्थितिमा रहेको विशेष स्रोत बताउँछ । किनभने बाहिर निर्वाचनको विरोध गर्दागर्दै निर्वाचनमा गएमा मोर्चाले मधेसी जनताको भोट लिने दाऊमा रहेको देखिन्छ ।
यता सत्तारुढ कांग्रेसले पनि वैशाखभित्र स्थानीय चुनाव गरिसक्नु पर्ने अडान लिएको छ । जसका कारण वैशाखभित्रै स्थानीय चुनाव गर्नुपर्ने बाध्यता सरकारलाई छ । तर तयारीका कारण निर्वाचन आयोगले जेठ १ गते पहिलो चरणको निर्वाचन गर्न सकिने टाइमलाइन सरकालाई दिएको छ । आयोगले जेठ १ र २१ गते टाइमलाइन दिएको भए पनि यसअघि भारतीय पक्षले जेठ १५ र १७ को टाइमलाइन दिएको थियो । राष्ट्रिय र अन्तराष्ट्रिय सन्दर्भका टाइमलाइनका बिच सरकारले सोमबार कसरी निर्वाचन घोषणा गर्ने हो हेर्न बाँकी छ ।












